४ लाखभन्दा कम मूल्यका प्रदुषण कम गर्ने मोटरसाइकल

काठमाडौं । सन् २०२० अप्रिल १ बाट भारतले प्रदुषण कम गर्ने भन्दै बीएस ६ मापदण्ड लागु भएपनि नेपालका आधिकारीक वितरकले अहिलेसम्म कमै मोडल मात्र बीएस ६ इन्जिनमा मोटरसाइकल ल्याएका छन् ।

बीएस ६ मापदण्ड अनुसार अहिलेसम्म नेपाल आएका मोटरसाइकलमा हिरो एक्स्ट्रीम १६० आर, टीभीएस अपाचे २०० फोर भी कम मूल्यका मोटरसाइकल हुन् । हुनत केटीएमले आफ्नो सबै मोडल बीएस ६ मापदण्ड अनुसारको विक्री गर्दै आएको छ । केटीएमको सबै मोडलको मूल्य ४ लाखभन्दा माथि नै रहेको छ ।

रोयल इन्फिल्डले मेटोर ३५० र जावाले पेराक पनि बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध गराएको छ । स्कुटर सेग्मेन्टमा यामाहा, टीभीएस, होन्डा, अप्रिलिया जस्ता ब्राण्डले भारतीय नयाँ प्रदुषण मापदण्ड अनुसारका साधन नेपालमा विक्री गर्दै आएका छन् । यामाहाले फसिनो र रे जेडआर एक वर्षअघि देखिनै विक्री गर्दै आएको छ ।

नेपालमा विक्री हुने सबैभन्दा कम मूल्यको बीएस ६ मापदण्डको मोटरसाइकल हिरो एक्स्ट्रीम १६० आर हो । नेपाल जनरल मार्केटिङ प्रालिले विक्री गर्ने एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ४२ हजार रुपैयाँ तोकिएको छ ।

हिरोले बनाएको सर्वाधिक छिटो कुद्न सक्ने यो मोटरसाइकलमा १६३ सीसी क्षमताको एफआई इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १५ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ ।

१७ इन्चको रेडियल टायर, एबीएसको साथमा अगाडि २७६ एमएमको पेटल डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक यसमा पाउन सकिन्छ ।

बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध अर्को मोटरसाइकल हो टीभीएस अपाचे आरटीआर २०० फोर भी । यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेर केही दिन अघिबाट विक्री सुरु भएको छ ।

निकै एड्भान्स फिचर समावेस भएको आरटीआर २०० फोर भीमा स्लीपर क्लच, सिंगल च्यानल एबीएस, स्मार्ट कनेक्ट फिचर, राइडिङ मोड जस्ता विशेषता पाउन सकिन्छ ।

कम्पनीले यसमा १९७.७५ सीसी क्षमताको आयल कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७८०० आरपीएममा १७।३२ पीएस पावर र ५७५० आरपीएममा १६.५१ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स र दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।


Back_to_top