सार्वजनिक भयो नयाँ जेनेरेशन सेलेरियो, नेपालमा कति पर्ला मूल्य ?

काठमाडौं । मारुती सुजुकीले आफ्नो प्रतिक्षित मोडल नयाँ जेनेरेशन सेलेरियो भारतमा सार्वजनिक गरेको छ । निकै आकर्षक लुक्समा देखिएको सेलेरियो उच्च माइलेज दिने ह्याचव्याकको रुपमा सार्वजनिक भएको हो ।

भारतमा विभिन्न ४ भेरियन्टमा सार्वजनिक भएको सेलेरियोको मूल्य ४ लाख ९९ हजारदेखि ६ लाख ९४ हजारसम्म मूल्य तोकिएको छ ।

कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले दावी गरेको छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले म्यानुयल र एएमटी गियरबक्समा बजारमा उतारेको छ ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ । नेपालको आधिकारीक विक्रेता सिजी मोटोकर्पले नयाँ जेनेरेशन सेलेरियो आगामी डिसेम्बरमा नेपाल ल्याउने अनुमान गरिएको छ ।

यसको नेपाली बजारमा कुन भेरियन्ट आउँछ भन्ने एकिन भएको छैन । यस्तोमा सुरुवाती भेरियन्टदेखि नै नेपाल आउने हो भने २५ लाखदेखि ३२ लाखसम्ममा नयाँ जेनेरेशन सेलेरियो उपलब्ध हुने हाम्रो अनुमान छ ।


Back_to_top