नेपाल आउन लागेको एक्सयूभी ७०० को वेस भेरियन्टले पायो ‘फाइभ स्टार रेटिङ’

काठमाडौं । नेपाल आउने क्रममा रहेको महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी ७००’को वेस भेरियन्टले ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । कम्पनीले एक महिना अघि भारतमा विक्री सुरु गरेको एक्सयूभी ७०० नेपाल ल्याउने तयारी भइरहेको छ ।

महिन्द्राले उत्पादन गरेको एक्सयूभी ३०० पछि ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ पाउने एक्सयूभी ७०० दोस्रो मोडल हो । यसले एडल्ट सेफ्टी रेटीङको १७ पूर्णाङ्कमा १६.०३ अंकसहित ५ स्टार रेटिङ पाएको हो ।

चाइल्ड सेफ्टीमा ४९ अंक पूर्णाङ्कमा ४१.६६ अंक पाएको एक्सयूभी ७०० लाई फोर स्टार रेटिङ प्रदान गरिएको छ । विशेषत बयस्क मानिसको टाउको, घाँटी, छाती र घुँडाको सुरक्षामा एक्सयूभी ७०० अब्बल देखिएको छ ।

कम्पनीले वेस भेरियन्टको अलावा टप भेरियन्टको पनि क्र्यास टेष्ट गरिरहेको छ । यसमा भने चाइल्ड सेफ्टीमा पनि ५ स्टार नै रेटिङ आउन सक्ने अनुमान गरिएको छ ।

५ र ७ सिट क्षमतामा आएको एक्सयूभी ७०० निकै पावर फुल २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसमा एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर उपलब्ध रहेका छन् । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र सनरुफले यो गाडीलाई लोभलाग्दो बनाएको छ ।


Back_to_top