काठमाडौं । चीन विश्वकै सबैभन्दा धेरै इलेक्ट्रीक सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण गर्ने कम्पनी भएको छ । कम्पनीले सन् २०२१ मा मात्रै २ लाख ४० हजार नयाँ चार्जिङ स्टेशन निर्माण गरेर विद्युतीय गाडी प्रति आफ्नो लगावलाई प्रस्ट पारेको हो ।
साथै, चीनका निजी निवासमा मात्रै एक वर्षमा १० लाख २ हजार यूनिट होम चार्जर स्टल भएको चिनियाँ मिडिया पिपुल्स डेलीले उल्लेख गरेको छ । योसँगै चीनमा जडित चार्जरको संख्या २२ लाख पुगेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सन् २०१५ देखि २०२० सम्ममा चीनमा ८ लाख ७ हजार मात्रै चार्जिङ जडान भएकोमा एक वर्षमा त्यो संख्या बढेर २२ लाख पुगेको हो । जुन एक वर्षमा नै करिब ७३ प्रतिशतले बढेको रिपोर्टमा दावी गरिएको छ । चीनमा टेस्लाले मात्रै २५ हजारभन्दा बढी सुपर चार्जर जडान गरेको थियो ।
चीनपछि सबैभन्दा धेरै चार्जिङ नेटवर्क रहेको अमेरिकामा अहिले १ लाख ११ हजार चार्जिङ नेटवर्क पुगेको अमेरिकी इनर्जी डिपार्टमेन्टले जनाएको छ । जुन चीनले एक वर्षमा लगाएको पव्लिक चार्जिङ नेटवर्क भन्दा आधा कम हो । अमेरिकले पनि सन् २०२१ चार्जिङ नेटवर्क दोब्बर भन्दा बढीले वृद्धि गरेको छ । सन् २०२० सम्म ४५ हजार १२४ चार्जिङ नेटवर्क रहेकोमा त्यो बढेर १ लाख ११ हजार पुगेको हो ।

