मूल्य र डिजाइनकै कारण म्याग्नाइट र काइगर ग्राहक लोभ्याउँदै, यस्तो छ आयात

काठमाडौं । गाडी किन्ने ग्राहकलाई कम मूल्यमा गाडी दिएर मात्रै विक्दैन, डिजाइन र फिचरले पनि साथ दिनु पर्छ भन्ने विषयलाई पछिल्लो दिनमा निसान म्याग्नाइट र रेनो काइगरले प्रमाणित गरेको छ ।

सब फोर मिटर सेग्मेन्टमा नेपालमा विक्री भइरहेका यी दुई कारको आयात तथ्यांकले पनि यो कुरा पुष्टी गर्छ । गाडीमा प्रायः मानिसले खोज्ने फिचर उपलब्धसँगै मूल्य पनि प्रतिस्पर्धी भन्दा कम लागेका ग्राहकले सहजै स्वीकार गर्छन् भन्ने कुरा प्रमाणित भएको छ ।

करिब ११ महिनाको अवधिमा निसान म्याग्नाइट १२ सय यूनिट आयात भएको छ भने ४ महिनाको अवधिमा ४५० यूनिट काइगर आयत भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।

यी दुबै गाडी एउटै प्लान्ट र एउटै प्लेटफर्ममा बनेका हुन् । दुबैमा समान १.० लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो इन्जिन दिइएको छ । गियरबक्स पनि समान ५ स्पीड म्यानुयल र सिभीटी अटोमेटीक उपलब्ध रहेको छ ।

दुबै मोडलको भेरियन्ट अनुसारको मूल्य

रेनो काइगर १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन भएको आरएक्सई म्यानुयल भेरियन्टको २९ लाख ९९ हजार, आरएक्सएल म्यानुयल भेरियन्टको ३१ लाख ८० हजार, आरएक्सएल एएमटीको ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले आरएक्सटी म्यानुयल भेरियन्टको नयाँ मूल्य ३४ लाख ७० हजार, आरएक्सटी एएमटीको ३६ लाख ३९ हजार र आरएक्सजेड म्यानुयल भेरियन्टको ३८ लाख ३९ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

त्यसैगरी, टर्बो इन्जिनमा उपलब्ध आरएक्सटी भेरियन्टको मूल्य ४० लाख ४९ हजार र आरएक्सजेड भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

निसान म्याग्नाइटको एक्सई भेरियन्टको मूल्य ३० लाख ९९ हजार, एक्सएल मिड भेरियन्टको ३३ लाख ९९ हजार, एक्सभी अपर भेरियन्टको ३६ लाख ९९ हजार र एक्सभी अपर ड्यूल टोन भेरियन्टको ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल टोनको मूल्य क्रमशः ४० लाख ४९ हजार र ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । टर्बो इन्जिन भएको एक्सएलको मूल्य ३८ लाख ९९ हजार, एक्सभी अपर मोनोको ४१ लाख ९९ हजार, एक्सभी प्रिमियमको ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम ड्यूल टोन भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

फिचर

दुबै गाडी उत्कृष्ट एक्सटेरियरमा उपलब्ध छन् । कम्पनीको सिग्नेचर ग्रिल, एलइडी लाइट, अलोय ह्वील, इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, रुफरेल जस्ता फिचर ग्राहकले यी गाडीमा पाउने छन् ।

सुरक्षाको लागि दुई एयरव्याग, इबीडी सहितको एबीएस, अगाडि दुबै चक्कामा डिस्क ब्रेक, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर यी दुबै गाडीमा पाउन सकिन्छ ।


Back_to_top