काठमाडौं । हिरोको आधिकारीक विक्रेता एनजीएम हिरोले एक्सपल्स २०० फोर भी मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी सन् २०२२ को जनवरीमा एक्सपल्स २०० फोर भी बजारमा ल्याउने भएको हो ।
हिरोले सन् २०१९ मा पहिलो पटक बजारमा विक्री सुरु गरेको एक्सपल्स २०० को हाइवे पर्फमेन्स सुधार गर्न २०२१ मा फोर भी मोडल ल्याएको थियो । नेपाल आएदेखि नै एक्सपल्स २०० ले सफलता पाइरहेको छ ।
एनजीएम हिरोले नयाँ एक्सपल्स २०० फोर भीमा थुप्रै परिमार्जन गरेर ल्याएको यो मोटरसाइकलले नेपालमा एड्भेन्चर मोटरसाइकल चाहने ग्राहकलाई उत्साहित बनाउने अपेक्षा गर्न सकिन्छ ।
एक्सपल्स २०० फोर भी भन्ने वित्तिकै मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको बुझ्न सकिन्छ । यसको मतलव रेगुलर मोडलको तुलनामा थप रिफाइन्ड इन्जिन यसमा प्रयोग भएको छ भन्ने हो । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी बनेको दावी हिरोले गरेको छ । यसको सिट आइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि मोडिफाई गरिएको छ ।
हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको कम्पनीले जनाएको छ । नयाँ हेडलाइट सेटअपले रातीको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

यसका अलावा अन्य कुरामा धेरै परिमार्जन भएको छैन । एक्सपल्स २०० मा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।
एक्सपल्स २०० अहिले नेपालमा ४ लाख २ हजार मूल्य तोकेर विक्री हुँदै आएको छ । भारतमा यसको मूल्य करिब २५ हजार रुपैयाँले बढी रहेको छ । यस्तोमा नेपालमा यो मोटरसाइकलको मूल्य ४ लाख ८५ हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

