काठमाडौं । यातायात व्यवस्था विभागले १०० वटा सवारी साधनमा निःशुल्क जीपीएस जडान गर्ने भएको छ । विभागले परीक्षणका रूपमा सुुरुआतको चरणमा ‘फर्स्ट कम, फर्स्ट सर्भ’का आधारमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर प्रोत्साहन गर्ने योजना गरेको हो ।
विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल–ट्रयाकिङ सिस्टम’ को प्रयोग सुरु गरेको छ । जस अन्तर्गत पहिलो दिनमा आइतबार १७ वटा सार्वजनिक बसमा यस्तो ट्रयाकिङ सिस्टम जोडिएको विभागले जनाएको छ ।
विभागले काठमाडौं–पोखरा, काठमाडौं–वीरगञ्ज, काठमाडौं–बर्दिबास–जनपुर रुटमा चल्ने सवारीबाट यसको सुरुवात गरिएको हो ।
सबै सार्वजनिक सवारीमा जीपीएस सिस्टम लगाएर एउटा कन्ट्रोल रुम बनाउन सकिने र देशभरको सार्वजनिक सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्न सकिने विभाग जनाएको छ ।
जीपीएस जडानपछि सवारी रहेको लोकेसन र गतिबारे लाइभ मनिटरिङ गर्न सकिने छ । सवारी दुर्घटना नियन्त्रणमा यो सिस्टम सबैभन्दा बढी उपयोगी हुने यातायात व्यवस्था विभागको दाबी छ ।


