काठमाडौं । स्कोडाको सेडान कार स्लाभिया नेपाल आउने पक्का भएको छ । भारतमा केही दिनअघि सार्वजनिक भएको स्लाभिया एमएडब्लू स्कोडाले नेपाल ल्याउने भएको हो ।
भारतीय बजारमा आक्रमक रणनीति अबलम्बन गरेको स्कोडाले र्यापीडको स्थानमा नयाँ सेडान कार ल्याएको छ । यसलाई जनवरी २०२२ बाट भारतमा विक्री सुरु गर्ने योजना कम्पनीले बनाएको छ । नेपालमा भने फेब्रुअरी २०२२ बाट यसको विक्री सुरु गर्ने कम्पनीले तयारी गरिरहेको छ । स्लाभिया नेपाल आउने भएसँगै विस्तारै र्यापीडको आयत बन्द हुने देखिन्छ ।
र्यापीडको तुलनामा निकै प्रिमियम फिचर उपलब्ध हुने स्लाभिया अन्तर्राष्ट्रिय बजारमा भने यसअघि पनि विक्री हुँदै आएको मोडल हो । स्कोडा स्लाभियामा अगाडि बटरफ्लाई ग्रिल र एलइडी हेडल्याम्पको उत्कृष्ट कम्बीनेशन पाउन सकिन्छ । स्लाभियाको पछाडिको भाग पनि उत्कृष्ट देखिएको छ । यसको पछाडि भागमा क्रिस्टललाइन सहितको एलइडी टेलल्याम्प दिइएको छ ।
सेफ्टी र मनोरञ्जनको लागि उत्कृष्ट बनाउन स्लाभियामा स्कोडाले कुनै कसर बाँकी राखेको छैन । कम्पनीले यसमा एससी, रियर पार्किङ सेन्सर, क्यामेरा, क्रुज कन्ट्रोल, मल्टी–कोलिजन ब्रेक र ६ वटासम्म एयरब्याग दिएको छ । साथै, मनोरञ्जन र चालकको सुविधाको लागि १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, भर्चुअल ककपिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर प्रदान गरेको छ ।
एमएडब्लू स्कोडाले स्लाभियालाई १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध गराउने छ । भारतमा भने यसको १.५ लिटर टीएसआई इन्जिन अप्सन पनि उपलब्ध रहेको छ । सिक्स स्पीड म्यानुयल र सिक्स स्पीड टर्क कन्भर्टर तथा ७ स्पीड डीएसजी गियरबक्स मध्ये आफ्नो आवश्यकता अनुसार ग्राहकले छनोट गर्न सक्ने छन् ।
भारतीय बजारमा तीन भेरियन्ट र ५ कलर अप्सनमा उपलब्ध रहेको स्लाभिया नेपाल भने कति भेरियन्ट र मूल्यमा उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

