काठमाडौं । लग्जरी कार निर्माता कम्पनी मर्सिडिजले सिंगल चार्जमा एक हजार किलोमिटर रेञ्ज प्रदान गर्ने नयाँ कार ल्याउने भएको छ । कम्पनीले जनवरी ३, २०२२ मा ‘इक्यूएक्सएक्स’ मोडल सार्वजनिक गर्ने घोषणा गरेसँगै विश्व अटोमोवाइल बजारमा यसको चर्चा चुलिएको हो ।
विद्युतीय गाडी कम रेञ्जको कारण चार्ज गर्ने झन्झट ग्राहकले भोग्दै आएको भन्दै मर्सिडिजले लग्जरी सेग्मेन्टमा नयाँ कार ल्याउन लागेको हो । जुन कारमा फुल ट्याङ्की पेट्रोलले भन्दा धेरै रेञ्ज प्रदान गर्ने क्षमताको व्याट्री प्याक रहने छ ।
कम्पनीले प्रतिकिलोवाट व्याट्रीले ९.६ किलोमिटर रेञ्ज प्रदान गर्नेगरी यसमा व्याट्री दिन लागेको जनाइएको छ । यो अटोमोवाइल क्षेत्रमा नै सर्वाधिक धेरै रेञ्ज प्रदान गर्ने गाडी बन्ने छ भने, प्रतिकिलोवाट पनि सबैभन्दा धेरै गुडाउन सकिने कार बन्ने छ ।
मर्सिडिजले यसलाई ‘लङ्गेष्ट रेञ्ज र हाइएस्ट इफिसेन्सी’ भएको कार हुने दावी गरेसँगै अटो क्षेत्रमा इलेक्ट्रीक सवारी साधनमा पनि पुराना कम्पनीको दबदवा रहने संकेत दिएको मान्न सकिन्छ ।
सम्भवत यो गाडी इलेक्ट्रीकमा सर्वाधिक पफमेन्स गर्न सक्ने गाडीको रुपमा बजारमा आउने छ । यसलाई मर्सिडिजको ‘पर्फमेन्स पावरट्रेन डिभिजन’ले तयार पारेको हो ।
मर्सिडिजले आफ्नो अटोमोवाइल क्षेत्रमा रहेको करिब १३० वर्ष लामो अनुभव र अनुषन्धानलाई प्रयोग गरेर ‘इक्यूएक्सएक्स’ मोडल तयार गरेको हो । कम्पनीले सन् २०२५ पछि आफ्नो हरेक मोडलमा इलेक्ट्रीक भर्सन हुने यसअघि नै जानकारी दिएको थियो ।
मर्सिडिजले इभी उत्पादनलाई विस्तार गर्न तीन फरक प्लेटफर्म निर्माण गरेको छ । जसमा मिडसाइज गाडीको लागि एमबी इए, पर्फमेन्स मोडलको लागि एएमजी इए र कमर्सियल गाडीको लागि भ्यान इए प्लेटफर्म तयार गरेको हो ।


