काठमाडौं । नेपालमै पहिलो विद्युतीय एम्बुलेन्सले सेवा सुरु गरेको छ । किष्ट अस्पतालले संचालनमा ल्याएको इलेक्ट्रीक एम्बुलेन्स हिजोबाट संचालनमा आएको हो ।
विश्व चर्चित इलेक्ट्रीक कार निर्माता कम्पनी बीवाइडीको एमथ्री मल्टी पर्पोज भ्यान (एमपीभी) लाई एम्बुलेन्समा परिमार्जन गरेर संचालनमा ल्याइएको हो । ठूलो साइज भएकै कारण यसमा विरामी र साथमा जाने मानिसलाई बस्न सहज हुने देखिन्छ ।
अहिले बजारमा उपलब्ध एम्बुलेन्सको तुलनामा लामो भएको कारण धेरै अस्पतालले यसको प्रयोग बढाउने साइमेक्स इंकको विश्वास छ ।
‘उपत्यकामा एम्बुलेन्स सेवा प्रदान गर्न बीवाइडी निकै उत्कृष्ट रहने छ । वातावरणमैत्री, ध्वनी प्रदुषण नहुँने कारण अस्पतालहरुले चासो देखाउन थालेका छन् । अब विस्तारै हामी माग अनुसार एम्बुलेन्स निर्माण र विक्री गर्नेछौं’, साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले मेरोअटोसँग भनिन् ।
उपत्यकामा अहिले १०० औंको संख्यामा एम्बुलेन्स संचालनमा छन् । तर, पहिलो पटक विद्युतीय एम्बुलेन्सको प्रयोग भने किष्ट अस्पतालले गर्ने भएको छ । किष्टले विस्तारै आफ्नो सबै एम्बुलेन्स विद्युतीय बनाउने योजना तयार गरेर उक्त एम्बुलेन्स प्रयोगमा ल्याएको जानकारी दिएको छ ।
एम्बुलेन्स बनाइएको एमथ्रीमा ५०.३ किलोवाट आवरको व्याट्री दिइएको छ । यसमा रहेको व्याट्री ४ हजार साइकल चल्ने भएकाले करिब २० वर्षसम्म केही नहुने कम्पनीको दावी छ । यसलाई एक पटकको फुल चार्जमा ३१० किलोमिटर गुडाउन सकिन्छ । यसलाई ४० किलोवाट क्षमताको एसी चार्जरले १ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
यो एम्बुलेन्समा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, गाडीको दुई वटा प्रिमियम सिट, किलेस इन्ट्री, सुरक्षाको लागि अगाडि चालक र यात्रुको लागि एयरव्याग, सिट बेल्ट रिमाइन्डर, स्पीड सेन्सिङ लक, सेन्सर राडार, एन्टी थेप्ट सिस्टम, एबीएस, इबीडी, इलेक्ट्रीक पार्किङ ब्रेक, इलेक्ट्रीक ब्रेक फोर्स डिस्ट्रीव्यूसन, ब्रेक ओभररिड सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
यो एम्बुलेन्समा उपलब्ध अटोमेटीक हेडल्याम्प, फलो मि होम, हेडलाइट एड्जस्टर, अगाडि र पछाडि दिइएको फगल्याम्पले चालकलाई निकै सहज बनाउँछ । बिरामी राख्ने कम्पार्टमा पनि एलइडी लाइट दिइएको छ ।
कम्पनीले यो एमपीभीमा करिब ८ लाख रुपैयाँ खर्च गरेर एम्बुलेन्समा विरामीको लागि आवस्यक फेब्रिकेसन गरेको जनाएको छ ।


