जेटुर टी-१ को बुकिङ खुला, यस्ता छन् फिचर

काठमाडौं । जेटुरको हाइब्रिड एसयूभी टी-१ नेपाल आएको छ । नेपालका लागि जेटुरको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले टी-१ ‘आई-डीएम हाइब्रिड’ एसयूभीको बुकिङ खुलाएको हो ।

कम्पनीले जेटुर टी-१ को मूल्य सुरूआती मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो ।

यस एसयूभीमा आधुनिक प्रविधि, विद्युतीय ड्राइभिङ अनुभव र अफरोड क्षमताको संयोजन पाउन सकिन्छ । बलियो बक्सी डिजाइन, प्लगइन हाइब्रिड पावरट्रेन, अत्याधुनिक ड्राइभर असिस्टेन्स प्रविधि र प्रिमियम इन्टेरियर टी-१ एसयूभीको प्रमुख आकर्षण हुन् ।

सहरी यात्रासँगै लामो दूरीको यात्रा र कठिन सडकमा सहजै सुरक्षित यात्रा गर्न टी-१ आई-डीएम उपयुक्त मोडल भएको कम्पनीले जनाएको छ ।

यसको डिजाइनले जर्मनीको प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’समेत जितेको छ ।

पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर

जेटुर टी-१ आई-डीएममा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र हाइब्रिडका लागि विशेष रूपमा विकास गरिएको गियरबक्स दिइएको छ । यसमा ‘डीएचटी ई-सीभीटी गियरबक्स’ पाउन सकिन्छ । इलेक्ट्रीक मोटर पनि निकै पावरफुल छ ।

जेटुर टी-१ एसयूभीमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग भएको छ । उक्त मोटरले अधिकतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ ।

पेट्रोल इन्जिनले भने अधिकतम १०० किलोवाट (१३६ पीएस) पावर र २२० न्युटन मिटर टर्क उत्पादन गर्छ ।

एसयूभीमा १८.४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ । कम्पनीका अनुसार यसमा प्रयोग भएको इन्जिनको थर्मल एफिसेन्सी ४४.५ प्रतिशत रहेको छ ।

प्लग-इन हाइब्रिड प्रविधिका कारण छोटो दूरीमा विद्युतीय ड्राइभिङको सुविधा र लामो यात्रामा पेट्रोल इन्जिनको सहयोग लिन सकिने यसको प्रमुख विशेषता हो । यद्यपि, वास्तविक विद्युतीय रेन्ज र इन्धन खपत भने ड्राइभिङ अवस्था, तापक्रम र ड्राइभिङमा निर्भर हुनेछ ।

कठिन सडकका लागि तयार डिजाइन

टी-१ एसयूभीमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । ग्राउण्ड क्लियरेन्स मात्रै सुन्दा धेरै नलागे पनि अप्रोच एंगल र डिपार्चर एंगल दुवै २८ डिग्री छन् । यसलाई ६०० एमएम गहिरो पानी जमेको स्थानमा पनि चलाउन सकिन्छ ।

जेटुरले एसयूभीमा अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट र पछाडि मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ । यसको बडीमा ८५ प्रतिशतभन्दा बढी हाई-स्ट्रेन्थ स्टिल प्रयोग भएको कम्पनीले दाबी गरेको छ । ब्याट्रीको सुरक्षाका लागि साइड गार्ड र आल्मुनियम बटम गार्ड प्रयोग गरिएको छ ।

सुरक्षा फिचर र स्मार्ट ड्राइभिङ प्रविधि

सुरक्षाका हिसाबले टी-१ एसयूभीमा एडास दिइएको छ । एडास भित्रका लेन किपिङ असिस्ट, लेन फलोइङ असिस्ट, ब्लाइण्ड स्पट कोलिजन एभोइडेन्स असिस्ट, स्मार्ट क्रुज कन्ट्रोल, स्टप एन्ड गो, ड्राइभर अटेन्सन वार्निङ र हाई बिम असिस्टजस्ता फिचर छन् ।

त्यसैगरी एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता सुरक्षा प्रणालीका कारण टी-१ निकै सुरक्षित एसयूभी बनेको छ ।

अगाडि र पछाडि पार्किङ राडार तथा ५४० डिग्री प्यानोरामिक भ्यु क्यामेराको प्रयोगले साँघुरा स्थानमा गाडी चलाउन र पार्किङ गर्न सहयोग पुग्छ ।

ठूलो स्क्रीन र प्रिमियम इन्टेरियर

गाडीको क्याबिनमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रीन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । स्न्यापड्रागन ८१५५ चिपमा आधारित ‘टुर ओएस २.० सिस्टम’ले इन्फोटेनमेन्ट र डिजिटल सुविधा अब्बल बनाएको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस चार्जिङ तथा ९ वटा स्पिकर पाउन सकिन्छ ।

यसमा डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, लेदर सिट, अगाडिका सिटमा भेन्टिलेसन, इलेक्ट्रीक पार्किङ ब्रेक र इलेक्ट्रोनिक गियर सिफ्टरजस्ता सुविधा छन् । गाडीको लम्बाइ ४७०५ एमएम, चौडाइ १९६७ एमएम र उचाइ १८४३ एमएम छ । ह्वीलबेस २८०० एमएम लामो छ ।


Back_to_top