काठमाडौं । करिब चार महिनापछि गुल्मीको रेसुंगा विमानस्थलमा हवाई सेवा पुनः सुरू भएको छ । प्रतिकूल मौसमका कारण जेठ तेस्रो सातादेखि अवरुद्ध हवाई सेवा आजदेखि पुनः सुचारु भएको हो ।
नेपाल वायुसेवा निगमको १८ सिटे ट्वीनअटर जहाज मंगलबार काठमाडौंबाट १३ जना यात्रु बोकर रेसुंगा विमानस्थलमा अवतरण भएको हो । निगमले अब रेसुंगा विमानस्थलमा नियमति रूपमा साताको तीन उडान गर्नेछ ।
निगमको उडान तालिका अनुसार हरेक आइतबार, मंगलबार र शुक्रबार रेसुंगा विमानस्थलमा उडान गर्नेछ । आइतबार र मंगललबार काठमाडौंबाट रेसुंगाका लागि बिहान ७ः१५ बजे र रेसुंगाबाट काडमाडौंका लागि बिहान ८ः१५ बजे उड्ने छ । त्यस्तै, शुक्रबार काठमाडौंबाट रेसुंगाका लागि बिहान ६ः२० र रेसुंगाबाट काडमाडौंका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ ।
निगमले काठमाडौं-गुल्मीको एक्तर्फी भाडादर १० हजार ७१० रुपैयाँ तोकेको छ । गुल्मीबाट काठमाडौंका लागि १० हजार ५१० रुपैयाँ हवाईभाडा निर्धारण गरेको छ ।
गुल्मीमा हवाई सेवा सुरू भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौं आवतजावत गर्न सहज भएको छ ।

