काठमाडौं । नेपाली विद्युतीय कार बजारमा नामी भिगोले धेरै मोडलको व्यापारमा तलमाथि बनाएको छ । ४.३ मिटर सेग्मेन्टको सबैभन्दा बलियो प्रतिस्पर्धी बीवाइडी एटो-२ एसेन्सियल माथि पनि नामी भिगोले धावा बोलेको सहजै अनुमान लगाउन सकिन्छ ।
नबोलोस् पनि किन ? बेस भेरियन्टकै बीचमा ८ लाख रुपैयाँको मूल्य फरक छ । यी दुवै मोडल नाडा अटो शोबाट नेपाली बजारमा प्रवेश गरेका हुन् ।
नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले भिगो ई२ लाई ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एटो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकेको छ । अर्थात् यी दुईबीच मूल्यमा करिब ८ लाख रुपैयाँको अन्तर देखिन्छ ।
मूल्य मात्रै हेरेर तुलना गर्दा यी दुई गाडीको वास्तविक अन्तर देखिँदैन । भिगो ई २ मा केही फिचर र ब्याट्री क्षमतामा फरक संरचना छ । एटो २ एसेन्सियललाई प्रिमियम भेरियन्टकै अधिकांश सुविधा राखेर सानो ब्याट्रीसहित ल्याइएको मोडल हो ।
ब्याट्री र रेन्जमा भिगो अगाडि
भिगो ई २ मा ५१.८७ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । जसको डब्लूएलटीपी रेन्ज ३५० किलोमिटर रहेको छ ।

एटो २ एसेन्सियलमा भने ४५.१२ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३१२ किलोमिटर छ । यस हिसाबले भिगो ई२ को ब्याट्री ठूलो र रेन्ज धेरै देखिन्छ ।
मोटर लगभग समान, टर्कको फाइदा एटो-२ लाई
एटो २ मा १०० किलोवाटको मोटर छ । जसले २९० एनएम टर्क उत्पादन गर्छ । यसले एसयूभीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टासम्म करिब ९ सेकेण्डमा पुर्याउने दाबी गरिएको छ ।
भिगो ई२ मा प्रयोग भएको ९९ किलोवाटको मोटरले २३० न्यूटन मिटर टर्क प्रदान गर्छ । टर्कको मामलामा बीवाइडी एटो-२ बलियो देखिन्छ ।
ग्राउण्ड क्लियरेन्समा एटो २ अगाडि
एटो २ को प्रमुख विशेषतामध्ये २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स हो । यसमा १७ इन्चको ह्वील छ । नेपाली सडकमा आउने खाल्डाखुल्डी, उकाला, बम्पी रोडमा पनि ग्राउण्ड क्लियरेन्सले साथ दिन्छ ।

भिगो ई२ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । यो निकै राम्रो ग्राउण्ड क्लियरेन्स भए पनि एटो २ को तुलनामा १० एमएम कम हो ।
फिचरमा आ-आफ्नै विशेषता
भिगो ई२ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले, ३६० डिग्री क्यामेरा, ५० वाटको वायरलेस चार्जर, वान-टच रियर सिट फोल्ड तथा अगाडिका सिटलाई बेडजस्तो बनाउन सकिने सुविधा छन् ।
त्यसका अलावा भिगोमा म्युजिकसँग जोडिएको एम्बियन्ट लाइट, वेलकम तथा मेमोरी सिट, बाहिरी स्पिकर, वाइफाइ कनेक्टिभिटी र चालकको सिटमा हिटेड र भेन्टिलेटेड सुविधा पनि छन् । ३५ स्थानमा सामान राख्ने ठाउँ, हेभन एण्ड अर्थ टेलगेट र थ्री-सी फास्ट चार्जिङजस्ता सुविधा पनि यसको विशेषता हुन् ।

एटो २ एसेन्सियलमा १२.८ इन्चको रोटेड हुने स्मार्ट टचस्क्रीन, बीवाइडी एपमार्फत गाडी नियन्त्रण तथा डिजिटल साँचो, ५० वाट वायरलेस चार्जिङ र अन्य स्मार्ट कनेक्टिभिटी सुविधा छन् ।
दुवैमा एडास लेभल-२
सुरक्षातर्फ दुवै गाडीमा एडास लेभल-२ सिस्टम उपलब्ध छ । भिगोमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, अटो होल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल छन् ।
एटो २ मा पनि एडास लेभल-२ पाउन सकिन्छ । यसमा पनि ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, अटो होल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् । एटो-२ निर्माणमा ८० प्रतिशतभन्दा बढी उच्च क्षमताको स्टिल प्रयोग गरिएको कम्पनीको दाबी छ ।
निष्कर्ष
३७ लाख ९९ हजार रुपैयाँको भिगो ई२ ले कम मूल्यमा ठूलो ब्याट्री विकल्प, धेरै उपयोगी आन्तरिक सुविधा र फरक किसिमका आरामदायी फिचर दिएको छ ।
एटो २ एसेन्सियल भने ४५ लाख ९५ हजार रुपैयाँमा बीवाइडीको ब्राण्ड, २०० एमएम ग्राउण्ड क्लियरेन्स, १०० किलोवाट मोटर र प्रिमियम भेरियन्टकै धेरै सुविधा चाहने ग्राहकका लागि लक्षित गरेको देखिन्छ ।
कम मूल्यमा धेरै फिचरलाई प्राथमिकता दिने ग्राहकका लागि भिगो ई२ आकर्षक विकल्प बन्न सक्छ । एटो २ एसेन्सियलले बीवाइडीको एटो २ परिवारमा कम ब्याट्री क्षमतामार्फत तुलनात्मक रूपमा कम प्रवेश मूल्य खोज्ने ग्राहकलाई लक्षित गरेको देखिन्छ ।

