धमाधम आउन थाले गाडी, दशैंमा डेलिभरी पाउने

काठमाडौं । गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुकिङ गरेकाहरूले दशैंमै डेलिभरी पाउने सम्भावना बढेको छ ।

कोरला नाका हुँदै भित्रिएका विद्युतीय कार गन्तव्यतर्फ आउन थालेसँगै धेरै ग्राहकले दशैंमा डेलिभरी पाउने भएका हुन् । यद्यपि, सडकको अवस्था नाजुक हुँदा भन्सार जाँचपास भएका सबै गाडी दशैं अघि नै आइपुग्ने र सबैले डेलिभरी पाउनेमा भने शंका छ ।

असोज महिना लागेपछि मात्रै कोरलाबाट साढे २ हजार बढी ईभी भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । असोज ८–१२ आएको बाढीपहिरोले कालिगण्डकी करिडोर २ साता अवरुद्ध हुँदा ती गाडी मुस्ताङमै अड्किएका थिए । तर, शुक्रबार (असोज २३ गते)देखि सडक सुचारु भएसँगै धमाधम गाडी आउन थालेका हुन् ।

कोरलाबाट बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, लीपमोटर, एमजी, ओरा, हाभाल लगायत ब्राण्डका ईभी गन्तव्यतर्फ आउन थालेका हुन् । एकिन तथ्यांक नभए पनि शनिबारदेखि आज दिउँसोसम्म करिब ५०० युनिट ईभी मुस्ताङबाट गन्तव्यतर्फ लागेको बताइन्छ ।

बाटो खुले (शुक्रबार बेलुकादेखि) मुस्ताङबाट कुल २९३७ वटा सवारी साधन बाहिरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।

यद्यपि, तीमध्ये कन्टेनर, ईभी, दुईपाँग्रे, सार्वजनिक, पर्यटक कति भन्ने नछुट्याइएको उनले बताए । उनका अनुसार बाहिरिने अधिकांश सवारीमा कन्टेनर र विद्युतीय कार रहेको छन् । ‘बाटो खुलेदेखि आज दिउँसोसम्म कुल २९३७ वटा सवारी बाहिरिएका छन् । छुट्टाछुट्टै तथ्यांक नराखिने भएकाले ईभी, दुईपाँग्रे, कन्टेनर कति कति भन्ने चाँही ठ्याक्कै भन्न सकिन्न,’ उनले मेरोअटोसँग भने, ‘तर, बाहिरिनेमा धेरै जसो कन्टेनर र ईभी रहेका छन् ।

मुस्ताङबाट हिँडेका केही ब्राण्डका गाडी पोखरा आइपुगेका छन् । बिक्रेताहरूले आएका गाडी डेलिभरीका लागि त्यहाँबाट सम्बन्धित डिलरमा पठाउन थालेका छन् । आवश्यक तयारी पूरा गरी एक/दुई दिनमै डेलिभरी दिने उनीहरूको तयारी छ । फूलपातीको दिनसम्म धेरै गाडी आइपुग्ने भएकाले धेरैले डेलिभरी पाउने बिक्रेताहरूको भनाइ छ । यद्यपि, बुकिङ गरेको सबै ग्राहकलाई गाडी डेलिभरी दिन सक्नेमा भने उनीहरू विश्वस्त छैनन् ।

चीन बाहेक भारत, थाइल्याण्डबाट आयात हुने ब्राण्डलाई भने कुनै समस्या छैन । उनीहरूले बुकिङ अनुसार नै गाडी ल्याएर डेलिभरी दिइरहेका छन् ।

सडक मर्मत गर्न उकरण स्ट्याण्डबाइ छन्

बाढिपहिरोले क्षतिग्रस्त बनाएको कालिगण्डकी करिडोर मर्मत गरी संचालनमा ल्याइएको छ । कतिपय ठाउँमा नयाँ ट्रयाक खोलिएकाले हिलाे र खाल्डाखुल्डी छन् । एकैपटक धेरै कन्टेनर गुडेकाले सडक बिग्रिने गरेकाे छ । त्यसैले, सवारी आवगनम सहज बनाउन ६ वटा उपकरण स्ट्याण्डबाइ राखिएको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना तेजस्वी शर्माले बताए ।

‘बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध गरेको थियो । दिनरात काम गरेर शुक्रबारदेखि सडक सुचारु गरियो । अहिले दुईतर्फी नै सवारी संचालन भइरहेका छन्,’ उनले मेरोअटोसँग भने, ‘मुस्ताङबाट कन्टेनर र विद्युतीय गाडी धमाधम आइहरको छन् । एकैपटक धेरै कन्टेनर गुड्दा सडकमा दुवैतर्फ खाल्डा बनेका छन् । त्यसलाई तत्कालै पुर्न ठाउँठाउँमा ६ वटा उपकरण स्ट्याण्डबाइ राखिएको छ ।’

अधिकांश कन्टेनर बाहिरिसकेकाले अहिले ईभी आइरहेको उनले बताए । आधिकारिक तथ्यांक नभए पनि पछिल्लो ४ दिनमै ५०० बढी कन्टेन र ४०० बढी ईभी बेनीतर्फ आइसकेको उनको भनाइ छ ।


Back_to_top