काठमाडौं । नेपाली बजारमा एलईडी हेडलाइट भएको बजाज पल्सर २२० एफ सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर २२० एफ बिक्री सुरू गरेको हो ।
कम्पनीले अपडेटेड पल्सर २२० एफको मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ । नयाँ पल्सर २२० को मुख्य अपडेट भनेको यसको हेडलाइट सेटअप हो । बजाजले यसअघिको हेलोजन सेटअपलाई प्रतिस्थापन गर्दै २२० एफमा इन्टिग्रेटेड एलईडी डीआरएलसहितको नयाँ एलईडी हेडलाइट युनिट दिएको छ ।
यो बाहेक कम्पनीले अन्य परिवर्तन भने गरेको छैन । यसअघि भने २२० एफ नयाँ ग्राफिक्स, एलईडी इण्डिकेटर र नयाँ कलर अप्सनसहित बजारमा आएको थियो ।
लाइटिङ अपग्रेडबाहेक मोटरसाइकलमा मेकानिकल रूपमा कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै २२० सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ । जसले २०.९ एचपी पावर र १८.६ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गेयरबक्स जोडिएको छ ।
पल्सर २२० एफमा ब्लूटुथ इनेबल्ड पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट जस्ता फिचर छन् ।
यसको अगाडि टेलिस्कोपिक एन्टी फ्रिक्शन बुश सस्पेन्सन र पछाडि ५ स्टेप नाइट्रोक्स शक अब्जर्बार, एलईडी लाइट, स्ट्यान्डर्ड एलईडी इन्डिकेटर्स, अलोय ह्वील, ट्युबलेस टायर र डबल डिस्कब्रेक पाउन सकिन्छ ।

