काठमाडौं । प्यासेन्जर कार सेग्मेन्टमा निकै तिब्र गतिमा व्यवसाय विस्तार गर्दै आएको टाटा मोटर्सले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी कुपे डिजाइनमा हुने जनाइएको छ ।
अटोकार इन्डियाले एक रिपोर्ट सार्वजनिक गर्दै टाटाले बजारमा रहेका क्रेटा, सेल्टोस कुशक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी नयाँ एसयूभी ल्याउने तयारी भइरहेको दावी गरेको छ ।
टाटाको नयाँ एसयूभी फुल इलेक्ट्रीक र पेट्रोल इन्जिन दुबै अप्सनमा उपलब्ध हुने छ । नयाँ एसयूभीको लम्बाई ४.३ मिटर रहने छ ।
टाटा नेक्सनको कम्बस्चन र इलेक्ट्रीक दुबै भर्सनको सफलतापछि टाटाले नयाँ एसयूभीको तयारी गरेको हो । कम्पनीले अबको ५ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरे अनुसार नयाँ एसयूभीको काम भइरहेको अटोकारको रिपोर्टमा उल्लेख छ ।
टाटा नेक्सन निर्माण भएको प्लेटफर्ममा नै नयाँ एसयूभीको काम भइरहेको दावी रिपोर्टमा गरिएको छ । नयाँ एसयूभीको अगाडिको विन्ड स्कृन, अगाडिको ढोका र बडी स्टाइल धेरै हदसम्म नेक्सनसँग मिल्दो जुल्दो छ भने बि पिल्लरमा परिवर्तन गरिएको छ ।
टाटाको नयाँ एसयूभीको अगाडि र पछाडिको डिजाइनमा व्यापक परिवर्तन देख्न सकिने छ । सम्भवत कम्पनीले यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिने छ । निकै शक्तिशाली उक्त इन्जिनले अधिकतम १६० हर्सपावर प्रदान गर्ने छ ।
नयाँ एसयूभी इलेक्ट्रीक भर्सन नेक्सन इभीभन्दा पावरफुल हुनेछ । यद्यपी यसमा कुन साइजको व्याट्री र मोटर प्रयोग हुन्छ त्यसको विषयमा भने केही खुलाइएको छैन ।


