बैंकले कर्जा नदिएपछि नयाँ गाडी आयात कम, माघमा ४ नयाँ मोडल आउने, धेरै इलेक्ट्रीक

काठमाडौं । बजारमा बढ्दो तरलता अभावको कारण गाडी विक्रेता कम्पनीहरुले नयाँ नयाँ मोडल विक्री सुरु गर्न हच्किएका छन् । विशेषत धेरै मानिसको रोजाईमा पर्ने सक्ने नयाँ कारको विक्री सुरु गर्न विक्रेताहरु डराएका हुन् ।

अहिले विभिन्न कम्पनीले भारतमा विक्री गर्दै आएका नयाँ कारहरु नेपाल आउने क्रममा रहेको भएपनि बैंकले कर्जा दिन सक्ने अवस्था नहुँदा धेरै कम्पनीहरु पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

भारतमा विक्री सुरु भएको भएपनि टाटा, स्कोडा, हुन्डाई, महिन्द्रा जस्ता कम्पनीले नयाँ गाडी नेपाल ल्याउन धेरै चासो देखाएका छैनन् । सबैको एउटै भनाइ रहेको पाइन्छ, ‘बैंकले कर्जा दिदैनन्, नयाँ प्रोडक्ट त्यसै मर्छ ।’

माग अनुसारको सप्लाई नहुनु र बजारमा तरलता अभावले गर्दा बैंकले कर्जा नदिनु अहिलेको मुख्य समस्या रहेको विक्रेताहरुको भनाई छ ।
टाटाको माइक्रो एसयूभी पन्च, हुन्डाई अल्काजार, महिन्द्रा बोलेरो नियो जस्ता मोडल नेपाल आउने क्रममा रहेको भएपनि बजारमा देखिएको समस्याको कारण तत्काल आयात हुने अवस्था देखिदैन ।

‘गाडी तयार भएपनि तरलताको अवस्थाले नयाँ गाडी ल्याउने आँट आएको छैन, गाडी ग्राहकले मनपराएपनि बैंकले कर्जा दिन सक्ने अवस्था छैन । त्यसैले नयाँ गाडी केही समयपछि मात्रै ल्याउने योजना बनाएका छौं’, एक विक्रेताले भने ।

यद्यपी मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियो भने माघ महिनाबाट नेपालमा विक्री सुरु हुने भएको छ । अहिले कम्पनीले सेलेरियोको बुकिङ लिइरहेको छ ।

यसका अलावा अन्य तीन नयाँ मोडलका इलेक्ट्रीक कार पनि माघबाट नेपालमा विक्री हुने भएका छन् । हुन्डाईको प्रिमियम कार आयोनीक ५, ओरा क्याट र टाटाको टिगोर इलेक्ट्रीक सेडान कार नेपालमा विक्री सुरु हुने छ ।

माघ महिनाबाट विक्री सुरु हुने चार कारमा सबैभन्दा कम मूल्यको गाडी नयाँ जेनेरेशन सेलेरियो हुनेछ भने सबैभन्दा महंगो गाडी आयोनिक ५ हुनेछ । टीगोर इभी पनि करिब ३० लाख हाराहारी मूल्य कायम गरेर विक्री सुरु गर्ने अनुमान गरिएको छ । त्यस्तै ओरा क्याटको मूल्य ४० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top