काठमाडौं । प्रविधिको विकासले मानिसको अनौठा चाहाना पुरा गर्न सकिने भएको छ । त्यसमा पनि कारको रंग नै परिवर्तन गर्ने प्रविधि भनेपछि धेरैलाई यो कारको विषयमा कौतुहल हुन सक्छ ।
जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले अटोमोबाइल क्षेत्रमा नै गरेको नयाँ खोजको रुपमा यसलाई लिइएको छ । कम्पनीले अमेरिकाको लस एन्जलसमा चलिरहेको कन्जुमर इलेक्ट्रीक शो २०२२ मा यो नयाँ प्रविधि जडान भएको कन्सेप्ट कार देखाएको हो ।
कम्पनीले देखाएको नयाँ प्रविधि अनुसार अब कार चालकले आफ्नो कारको वाहिरी आवरण कलर परिवर्तन गर्न सक्नेछन् । ‘बीएमडब्लु आईएक्स फ्लो’ नाम दिएको कन्सेप्ट कारमा इलेक्ट्रोनिक इन्क टेक्नलोजीको सहायताले विभिन्न भेराइटीको प्याटर्नका साथै ग्रे र ह्वाइट मध्ये एक कलर छनोट गर्न पाउने छन् ।
यो प्रविधिको प्रयोग गर्दा केही इनर्जी प्रयोग हुन्छ । तर, यसलाई इनर्जी इफिसेन्सी बनाउन कम्पनीले धेरै मिहिनेत गरेको जनाएको छ । यो कारको आवरणमा बाक्लो पेपर जस्तो मेटिरीयल प्रयोग भएको छ । यसले कडा घाममा सूर्यको प्रकाशलाई पनि रिफ्लेक्ट गरेर कारको तापक्रम कन्ट्रोल गर्न मद्दत गर्छ । चिसो मौसममा पनि तापक्रम शोस्ने बनाउन सकिने प्रविधि यसमा दिइएको छ । यी सबै काम मोवाइलमा एपको सहायताले सजिलै गर्न सकिन्छ ।


