काठमाडौं । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराको पहिलो इलेक्ट्रीक कार नेपाल आएको छ । विश्व चर्चित जर्मन ब्राण्ड फक्सवागेन विटल जस्तै देखिने ‘गुड क्याट’ नेपाल आएको हो ।
ग्रेटवालको आधिकारीक वितरक भिजी इम्पेक्सले ओरा गुड क्याट नेपाल ल्याएको भएपनि यसको टेक्नीकल डिटेल सार्वजनिक गरेको छैन । कम्पनीले नेपाल ल्याएको गुड क्याटमा ६३ किलोवाट आवरको व्याट्री रहेको जानकारी दिएको छ ।
भिजी इम्पेक्सले गुड क्याटलाई विभिन्न तीन भेरियन्टमा नेपाल ल्याएको छ । जसको मूल्य ओरा गुड क्याट लो भेरियन्टको ३९ लाख ९९ हजार ९९९, गुड क्याट मिडियमको ४३ लाख ४९ हजार ९९९ र गुड क्याट हाई भेरियन्टको ४७ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।
कम्पनीले यसमा रहेको व्याट्रीलाई फुल चार्ज गर्दा ५०० किलोमिटर रेञ्ज दिने दावी गरेपनि डब्लूएलटीसीले भने ४२० किलोमिटर प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा विक्री भइरहेको गुड क्याटमा १२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहेको छ । नेपाल आएको स्पेक थाइल्याण्ड स्पेक हो ।
यसमा ८० किलोवाट क्षमताको फस्ट डिसी चार्जर सपोर्ट गर्ने क्षमता रहेको छ । यसमा सिंगल फेज लाइनमा चार्ज गर्न ६.६ किलोबाट र थ्रि फेज लाइनमा स्टायडर्ड चार्जरको रुपमा ११ किलोवाट क्षमताको चार्जर प्रयोग गर्न सकिन्छ ।
ओरा गुड क्याटमा उपलब्ध ५ फिचरलाई मुख्य आकर्षण मान्न सकिन्छ ।

१. ह्वील साइजः गुड क्याट क्लासिक डिजाइनमा तयार भएको ह्याचव्याक कार हो । ह्याचव्याक कार भएरपनि यसमा निकै ठूलो १८ इन्चको अलोड ह्वील प्रयोग भएको छ । यसको लो भेरियन्टमा भने कभर सहितको स्टील ह्वील पाउन सकिन्छ ।

२. सनरुफः नेपालमा विक्री हुने इलेक्ट्रीक ह्याचव्याकमा पहिलो पटक फुल साइजको पानारोमिक सनरुफ प्रयोग भएको गुड क्याट उत्कृष्ट रहेको छ ।

३. ड्यासबोर्डः निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टरलाई एक आपसमा जोडेर निकै सुन्दर ढंगले यसमा डिजाइन गरिएको छ । ढोका खोलेर ड्यासबोर्डमा झट्ट हेर्दा फरक किसिमको सुन्दरता यसमा देख्न सकिन्छ ।

४.सिट क्वालीटीः ओरा गुड क्याटको टप भेरियन्टमा दिइएको अगाडि र पछाडिको सिट निकै उत्कृष्ट रहेको छ । रेग्जीनको सिट भएपनि निकै उत्कृष्ट क्वालीटी पाउन सकिन्छ । साथै, पछाडिको सिट सेडान कारको जसरी प्लेसिङ गरिएको कारण बस्न निकै आरामदायी रहेको छ ।

५. लुक्सः ओरा गुड क्याटको डिजाइन धेरै हदसम्म फक्सवागेन विटलबाट प्रेरित रहेको छ । क्लासिक रेट्रो लुक्स भएको कारण सबैलाई यो डिजाइन मन पर्छ भन्ने छैन । यद्यपी स्पोर्टस् यूटिलिटी भेहिकलको सर्वाधिक माग रहेको समयमा ओराले थप चुनौती यसको डिजाइनमा उठाएको छ ।

