काठमाडौं । जीप इन्डियाले यही वर्ष भित्र भारतमा नयाँ ३ वटा मोडल विक्री सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२२ भित्र कम्पास ट्रायलहक, मेरिडिएन र ग्राण्ड चेरोकी भारतमै उत्पादन र विक्री गर्न लागेको हो ।
जीपले कम्पासको सफलतासँगै आफ्ना थप मोडलहरु भारतीय बजारमा ल्याउन लागेको हो । पछिल्लो समय ७ सिट क्षमताको एसयूभी खोज्ने ग्राहक भारतमा धेरै बढेसँगै जीपले मेरिडीयन बजारमा ल्याउन लागेको हो ।
जीपको मेरिडीयन विश्व बजारमा कमाण्डरको रुपमा दुई महिना अगाडि लन्च भएको थियो । यो मोडलमा अधिकतम ७ सिट र क्याप्टेन सिट भर्सनमा ६ सिट रहेको छ । जीप कम्पासकै प्लेटफर्ममा बनेको मेरिडीयनमा ३ रो सिटका लागि केही लम्बाई र ह्वीलबेस बढाइएको छ ।
यसलाई कम्पासभन्दा फरक देखाउन केही डिजाइन एलिमेन्टमा परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड भने कम्पासको जस्तै रहने छ । तर, इन्टेरियरमा प्रसस्त अन्य परिवर्तन हुने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।
जीप कम्पासमा जस्तै मेरिडीयनमा पनि धेरै सफ्टी फिचरहरु रहने छन् । यसमा २.० लिटर फोर सिलिण्डर टर्बो चार्ज्ड डिजेल इन्जिनका साथै ४८ भोल्टको माइल्ड हाइब्रिड टेक्नलाजी प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
यसको इन्जिनले २०० हर्स पावर प्रदान गर्ने अनुमान गरिएको छ । साथै, मेरिडीयनमा ९ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध रहनेछ ।

