सेगवे इ १०० नेपाली बजारमा सार्वजनिक, मूल्य २ लाख ९१ हजार

काठमाडौं । आइ हव प्रालिले नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर भित्र्याएको छ । कम्पनीले सेगवे नाइवटको स्मार्ट इलेक्ट्रीक स्कुटर इ १०० को विक्री सुरु गरेको हो ।

सेगवेले १९९९ देखी रोवोटीक बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट जस्ता साधनको उत्पादन गर्दै आएको थियो । सेगवे र नाइनबटको रणनीतिक सहकार्य पछि स्कुटरको उत्पादन सुरु गरेको हो ।

सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी रहेको छ ।
आइ हव प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ-स्कुटरका अन्य मोडलहरु पनि ल्याउने छ ।

यसमा २.४ किलोवाटको म्याक्स पावर तथा १.८ किलोवाटको रेटेड मोटर उपलब्ध छ । यो मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

इ १०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको रहेको छ । सेगवे इ-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो स्कुटर गुडाउन सकिदैन ।

यसमा कि–लेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।
सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध छ ।

नाइनबट इ १०० कालो, सेतो, नीलो र रातो गरि ४ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो इ-स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

सेगवे इ-१०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top