काठमाडौं । सन् २०२१ मा विश्वभर ४६ लाखभन्दा बढी पूर्ण इलेक्ट्रीक कार विक्री भएको छ भने, प्लगइन हाइब्रिड कारको विक्री १९ लाख यूनिट हाराहारी भएको तथ्यांक सार्वजनिक भएको छ ।
सन् २०२१ मा प्लगइन र हाइब्रिड गरेर ६४ लाख ९५ हजार ३८८ यूनिट कार विक्री भएको थियो । अहिले विश्वमा ठूलो परिमाणमा विद्युतीय कार उत्पादन गर्ने कम्पनी टेस्ला हो । टेस्लालाई पूर्ण इलेक्ट्रीक कार उत्पादनमा तत्काल भेट्न सक्ने अर्को कम्पनी देखिएको छैन ।
सन् २०२१ मा विक्री भएको ४६ लाख विद्युतीय कार मध्ये ९ लाख ३६ हजार १७२ यूनिट इलेक्ट्रीक कार टेस्ला एक्लैले विक्री गरेको छ । विद्युतीय कार बजारमा टेस्लाको बजार हिस्सा २१ प्रतिशत छ ।
इलेक्ट्रीक कार उत्पादनमा चिनियाँ कम्पनी एसएआईसी-जीएम-विलिङले दोस्रो स्थान लिएको छ । विलिङ एसएआइसी र जनरल मोटरको ब्राण्ड हो । यसले विलिङ मिनी इभी उत्पादन गर्दै आएको छ । यसको विक्री चीनमा मासिक ४० देखि ५० हजार यूनिट भइरहेको छ । साथै, एसएआइसीले एमजीको इलेक्ट्रीक कार पनि उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा ६ लाख ९ हजार ७३० यूनिट कार उत्पादन गर्दै बजार हिस्सा १३ प्रतिशत ओगट्न सफल भएको हो ।
जर्मन कार निर्माता कम्पनी फक्सवागेन पूर्ण इलेक्ट्रीक कार उत्पादन गर्ने तेस्रो ठूलो ब्राण्ड बनेको छ । फक्सवागनले पूर्ण इलेक्ट्रीक कारको बजारमा ९ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो । कम्पनीले एक वर्षमा ४ लाख ५१ हजार १३१ यूनिट विद्युतीय कार उत्पादन गरेको थियो ।
चिनियाँ ब्राण्ड बीवाइडीले सन् २०२१ मा ३ लाख २३ हजार १४३ यूनिट पूर्ण इलेक्ट्रीक कार उत्पादन र विक्री गरेको थियो । कम्पनीले झण्डै त्यति नै संख्यामा प्लगइन हाइब्रिड कार पनि उत्पादन र विक्री गरेको थियो । पूर्ण विद्युतीय कारमा बीवाइडीको बजार हिस्सा ७ प्रतिशत रहेको छ ।
धेरै इलेक्ट्रीक कार उत्पादन र विक्री गर्ने सूचीको पाँचौ स्थानमा हुन्डाई मोटर ग्रुप रहेको छ । हुन्डाई मोटर ग्रुप अन्तर्गत हुन्डाई र किया दुई ब्राण्ड संचालनमा छन् । यी दुई ब्राण्डले मिलाएर २ लाख १६ हजार ५६२ यूनिट विद्युतीय कार उत्पादन र विक्री गरेका छन् । विद्युतीय कारमा हुन्डाई मोटर ग्रुपले ५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
सन् २०२१ मा यी ५ बाहेक अन्य विभिन्न ब्राण्डले करिब २० लाख यूनिट विद्युतीय कार उत्पादन र विक्री गरेका थिए ।


