के हो ट्रयाक्सन कन्ट्रोल, यसले कसरी गर्छ काम ?

काठमाडौं । आधुनिक गाडीमा विभिन्न किसिमको फिचर पाइन्छ । त्यसमा पनि ठूलो साइजको गाडी जस्तोसुकै कन्डिसनको सडकमा गुडाउन सकियोस् र सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ ।

तर, गाडी ठूलो हुँदैमा सबै बाटाहरुमा चलाउन सकिदैन । त्यसका लागि फोर ह्वील वा अल ह्वील डाइभ सिस्टम आवस्यक हुन्छ । टु ह्वील ड्राइभ गाडीमा अगाडि वा पछाडिको दुईवटा चक्कामा मात्र पावर दिइन्छ । फलतः चक्का हिलो वा बालुवा फस्यो भने गाडी निकाल्न कठिन हुन्छ । त्यसैले सबै किसिमको बाटोमा चलाउन फोर ह्वील वा अलह्वील ड्राइभ गाडीको आवस्यकता पर्छ ।

पछिल्लो समय गाडी उत्पादकहरुले नयाँ टेक्नलोजीको विकास गरेसँगै टु ह्वील ड्राइभ गाडीलाई पनि खराब बाटोमा चलाउन सक्षम बनाएका छन् । फोर ह्वील ड्राइभ टेक्नलोजीमा धेरै पार्टस् प्रयोग हुने भएकोले बढि लागत र गाडीको तौलसमेत धेरै हुँदा इन्धन खपतसमेत बढि हुने गरेको छ । त्यसलाई घटाउन कम्पनीहरुले नयाँ नयाँ प्रविधि विकास गर्दै आएका छन् । ट्रायक्सन कन्ट्रोलले टु ह्वील ड्राइभ गाडीलाई फोर ह्वलको काम गर्ने बनाउँछ ।

ट्रयाक्सन कन्ट्रोल र टेरेन मोड जस्ता टेक्नलोजीले टु ह्वील गाडी पनि फोर ह्वील जस्तै प्रफर्मेन्स दिनका लागि योग्य भएका छन् । यी टेक्नलोजीले कसरी काम गर्छ त्यसको बारेमा यहाँ चर्चा गरिएको छ ।

ट्रयाक्सन कन्ट्रोल

ट्रयाक्सन कन्ट्रोल सिस्टमले (टीसीएस) एक सामान्य सिद्धान्तको आधारमा कार्य गर्छ । यो सिस्टममा ड्राइभ गर्ने दायाँ वा वायाँ जुन चक्कामा ट्रयाक्सन कम हुन्छ त्यो चक्कामा ब्रेक लगाउँछ । टीसीएसले दुबै चक्काको गति गाडीको गतिसँग विश्लेषण गर्छ र जुन चक्का हिलोमा वा बालुवामा स्पीन गरेको हुन्छ त्यो चक्काको पावर रोकेर अर्को नघुमेको चक्कामा पावर बढाउँछ ।

यो प्रकृयामा हिलोमा फसेर गाडीको गतिभन्दा धेरै गतिमा घुमीरहेको चक्कालाई भने ब्रेक लगाएर त्यसको गति रोक्छ । फलस्वरुप फसेको गाडी बाहिर निस्कन मद्दत पुग्छ । टीसीएस सिस्टम गाडीको गति ८० किलोमिटर प्रतिघण्टा वा सोभन्दा कमको गतिमा मात्र काम गर्छ । ८० किलोमिटर भन्दा बढीको गतिमा सिस्टमले काम गर्दैन ।

विशेषत टीसीएस सिस्टम बिग्रिएका र रफ रोडको लागि उपयोगी हुन्छ । तर, टीसीएस सिस्टम छ भन्दैमा पुरै अफरोडिङ भने जानु उचित मानिन्न । टीसीएस सिस्टमलाई म्यानुलल्ली अपरेट गर्न सकिन्छ ।

टेरेन मोड–वेट, रफ र स्याण्ड

आजभोलि आउने एसयूभीमा विभिन्न खालको फरक–फरक टेरेनमा गडाउन सहयोगी होस् भनेर विभिन्न किसिमका मोड छनौट गर्ने सुविधा दिइएको हुन्छ । यो मोडको सहायताले फरक टेरेनमा गाडी चलाउन सहज हुन्छ ।

वेट मोड

चिसो वा चिप्लो बाटोमा गाडी चलाउन वेट मोड प्रयोग गर्नु पर्छ । यो मोड लगाएर गाडी चलाउँदा ट्राक्सन कन्ट्रोल टेक्नोलोजीले चक्का गुडेको स्थानको विश्लेषण गर्छ । यस्तो बाटोमा अचानक हाड ब्रेक लगाएमा गाडी चिप्लीएर खस्ने वा ठोकिने हुन सक्छ ।

गाडीको सबै चक्काको ट्रयाक्सन एकदमै कम हुने भएकाले नर्मल मोडमा एक्सीलरेसन गर्दा चक्का स्पीनभई गाडी फस्न सक्छ । यदि वेट मोड सेलेक्सन गरेको छ भने, टीसीएसले ह्वीलको स्पीड कमगरी ब्रेकिङलाई पनि मिनिमाइज गर्छ ।

रफ मोड

रफ टेरेनमा गाडी चलाउँदा चक्कामा बढि रेभुलूसन तथा कम ब्रेकिङको आवश्यक्ता पर्छ । रफ मोड सेलेक्सन गरेपछि ह्वीलको स्पीड गाडीको भन्दा १० किलोमिटर प्रतिघण्टाले बढि हुन्छ । यसको कारण धेरै ट्रयाक्सन मिल्छ । जसको कारणले नर्मल मोडमा भन्दा यो मोडले सजिलै रफ रोडबाट गाडी पार लगाउँछ ।

स्याण्ड मोड

बालुवामा गाडी चलाउन झन् गाह्रो हुन्छ । नर्मल मोडमा स्याण्डी सरफेसमा गाडी चलाउने हो भने ह्वीलको स्पीड कम हुनाले वालुवामा चक्का गाडिदै जान्छ । स्याण्ड मोडमा लगाएर यस्तो बाटोमा गाडी चलाउँदा टीसीएसले ह्वीलको स्पीड बढाउँछ र चक्का बालुवामा फस्दैन । तर, गाडी रोकिएर रहेको अवस्थामा ह्वील स्पीन बढ्यो भने चक्का अझ फस्दै जान्छ । यस्तोमा पनि टीसीएसले आवश्यकता अनुसार ह्वीलको स्पीड कन्ट्रोल गर्छ ।


Back_to_top