काठमाडौं । विद्युतीय गाडीको उत्पादन लागत नै महंगो हुने भएकोले सरकारले दिएको कर छुटका बाबजुद मूल्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी जत्तिकै महंगो हुने गरेको छ । यसका बबजुद ३० लाख रुपैयाँभन्दा कम मूल्यमा इलेक्ट्रीक माइक्रो एसयूभी आउन सक्ने देखिएको छ ।
महिन्द्राले आफ्नो माइक्रो एसयूभी केयूभी १०० को इलेक्ट्रीक भर्सन मार्चमा सार्वजनिक हुने विभिन्न रिपोर्टहरुले उल्लेख गरेसँगै यसको चर्चा पनि चुलिदै गएको छ । यसअघि कम्पनीले १४० किलोमिटर रेन्जको साथ बजारमा ल्याउने तयारी थालेको भएपनि कोभिडको फैलदो संक्रमण र सेमी कन्डक्टरको समस्याले गर्दा यसको लन्चिङ सर्दै आएको थियो ।

अब भने महिन्द्राले यसलाई बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले आधिकारीक जानकारी नदिएपनि यसको रेन्जसमेत बढ्ने छ । महिन्द्राले यसलाई करिब २०० किलोमिटर रेन्ज दिनसक्ने गरी बजारमा ल्याउन लागेको अनुमान गरिएको छ ।
सन् २०२० को अन्तिमसम्ममा बजारमा ल्याउन तयार भइसकेको इकेयूभी १०० मा कम्पनीले १६ किलोवाट आवरको व्याट्री र ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिने जनाएको थियो । यसको रेन्ज १५० किलोमिटर हाराहारी थियो ।
महिन्द्राले यसको डिजाइन र इन्टेरियर फिचर पेट्रोलियम पदार्थबाट चल्ने इकेयूभी १०० को जस्तै रहने छ । तर, सुरक्षा र अन्य थप लग्जरी फिचर यसमा समेटिने अनुमान गर्न सकिन्छ । भारत र नेपालमा एकै पटक नयाँ केयूभी १०० इलेक्ट्रीक सार्वजनिक गर्ने तयारी भइरहेको महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जी स्रोतले जानकारी दिएको छ ।
महिन्द्राले केयूभी १०० को पेट्रोल र डिजेल भेरियन्टको उत्पादन भने बन्द गरिसकेको छ । अब यसको इलेक्ट्रीक भर्सन मात्रै उपलब्ध हुनेछ ।


