काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको सेवा सुरु गरेको छ । कम्पनीले त्यसको लागि वर्कसप अन ह्वील सेवा सुरु गरेको हो ।
सवारी साधनमा नै ग्यारेज निर्माण गरेर दिइने यो सेवा ‘स्मार्ट वर्कसप’को अवधारणा भएको कम्पनीले जनाएको छ । यो सेवा सुरु भएसँगै मारुती सुजुकीका ग्राहकले आफनो घर दैलोमै सवारी मर्मत गराउन सक्नेछन् ।
कम्पनीको अनुसार ‘वर्कसप अन ह्वील’मा सबै आधुनिक प्रविधि र उपकरणहरू जडान भएका छन् । जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य गर्ने छन् ।
सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ अनुसार, ‘यो नयाँ सेवाले हरेक ग्राहकले चाहेमा आफ्नै घरबाट सेवा लिन सक्नेछन् । यो चार पाङ्ग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो, जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ ।’
अहिलेलाई यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणगढमा उपलब्ध रहेको र चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


