काठमाडौं । टाटाको मिडसाइज एसयूभी ‘एच फाइभ’ (भारतमा टाटा ह्यारीयर)को मिड–लाइफ फेसलिफ्ट ल्याउने तयारी सुरु भएको छ । कम्पनीले आफ्नो नयाँ ओमेगा आर्क प्लेटफर्ममा बनाएको ‘एच फाइभ’ धेरै अर्थमा ल्याण्डरोभरको स्पोट्स मोडलसँग प्रभावित देखिन्छ ।
भारतमा सन् २०१८ मा पहिलो पटक सार्वजनिक भएको ह्यारीयर सन् २०१९ बाट विक्री सुरु भएको थियो । सन् २०२० को जनवरीमा यसमा केही परिमार्जन भएको थियो ।
मिड–साइकल फेसलिफ्टका लागि टाटाले ‘प्रोजेक्ट क्यूफाइभएमसीइ’ नाममा काम गरिरहेको छ । यो अपडेट धेरै रुपमा ‘भ्यालुफर मनी’ हुने र महत्वपूर्ण अपडेटहरु हुने अनुमान गरिएको छ ।
फेसलिफ्ट डिजाइनमा एक्टेरियर स्टाइल, नयाँ फ्रन्ट ग्रिल र हेडल्याम्प रहने छ । साथै, यसमा परिमार्जित अलोय ह्वील तथा पछाडिको भागमा समेत परिमार्जन पाउन सकिन्छ ।
नयाँ एच फाइभमा वायरलेस एण्ड्रोइड अटो तथा एप्पल कार प्लेसहितको अपडेटेड इन्फोटेन्मेन्ट र स्टेरियो सिस्टम रहनेछ । यसमा अब ३६० डिग्री क्यामेरा समेत उपलब्ध रहनेछ । आधुनिक फिचरको रुपमा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडीएएस) समेत उपलब्ध रहने छ ।
अहिलेसम्म २.० लिटरको क्रेओटेक डिजेल इन्जिनमा मात्र उपलब्ध एच फाइभ अब १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा समेत उपलब्ध हुनेछ । पेट्रोल इन्जिनमा म्यनुअल र अटोमेटिक दुबै गियरबक्स पाउन सकिन्छ । नयाँ फेसलिफ्ट मोडल आगामी वर्षको सुरुवातवाट विक्री हुने अनुमान गरिएको छ ।

