काठमाडौं । टाटा टियागोले ४ लाख यूनिटको माइलस्टोन पार गरेको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको हो ।
टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो ।
टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ । टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।
१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।
टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ । टाटा टियागोले प्रतिलिटर २०।०९ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दावी छ ।
टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल छ । ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ । यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ ।
टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् । त्यस्तै चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।

