काठमाडौं । एमजीले भारतीय बजारलाई लक्षित गरेर उत्पादन गरेको सानो साइजको इलेक्ट्रीक कारको तस्विर सार्वजनिक भएको छ । अटोकार इन्डियाले स्कुप न्यूज भन्दै प्रकाशन गरेको तस्विरमा सहरी क्षेत्रको लागि एमजीले राम्रो विकल्प दिन लागेको देखिन्छ ।
एमजीले भारतमा उत्पादन गर्ने यो इभी कम्पनीको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बन्न लागेको हो । यसको उत्पादन कोण नेम ‘इ२३०’ रहेको छ । कम्पनीले यसको उत्पादन नेम के राख्ने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
दुई ढोका मात्रै रहने यो कारमा ४ जनाले सहजै यात्रा गर्न सक्ने छन् । निकै भविष्य केन्द्रित डिजाइनमा तयार भएको देखिने यो इभीमा स्क्वायर हेडल्याम्प, ग्रिलको बीचमा एमजीको लोगो, स्लीम फगल्याम्प देख्न सकिन्छ ।
ठूलो ढोका, १२ इन्चको ह्वीलसहित प्लास्टीकको हब क्याप, पछाडिको भाग पनि निकै स्मार्ट तरिकाले बनाइएको छ । २९०० एमएम लामो यो इभीमा २०१० एमएमको ह्वीलवेस रहने छ । साइजको हिसावले यो इभी मारुती सुजुकी अल्टोभन्दा ४०० एमएम छोटो हुनेछ ।

सहर केन्द्रित कार भएको कारण एमजीले यसमा २० किलोवाट आवरको ब्याट्री र २५ किलोवाट क्षमताको मोटर उपलब्ध हुनेछ । यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिने छ ।
महिन्द्राले यसअघि विक्री गर्दै आएको इटुओ मोडलको स्थान एमजीको नयाँ सानो इभीले लिने अनुमान गर्न सकिन्छ । भारतीय बजारमा उत्पादन हुने भएपछि उक्त सहर केन्द्रित इभी नेपाल पनि आउने छ । जनवरीमा आयोजना हुने अटो एक्स्पो २०२३ मा यसलाई कम्पनीले सार्वजनिक गर्नेछ ।

