काठमाडौं । मारुती सुजुकीले आफ्नो सफल सब फोर मिटर एसयूभीको नयाँ जेनेरेशन मोडलको विक्री सुरु गरेको छ । कम्पनीले यसअघि नै जुन ३० बाट भारतमा विक्री सुरु गर्ने घोषणा गरेको थियो ।
यसअघि नै बुकिङ खुल्ला भएको नयाँ जेनेरेशन ब्रेजालाई कम्पनीले विभिन्न ६ भेरियन्टमा बजारमा ल्याएको हो । अटोमेटीक गियरबक्समा भने ५ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले ब्रेजाको एलएक्सआई भेरियन्ट म्यानुयल गियरबक्समा मात्रै उपलब्ध रहेको छ । यसको मूल्य ७ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी भिएक्सआई म्यानुयलको ९ लाख ४७ हजार, अटोमेटीकको १० लाख ९७ हजार रुपैयाँ तोकिएको छ । जेडएक्सआई म्यानुयलको १० लाख ८७ हजार र अटोमेटीकको १२ लाख ३७ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
जेडएक्सआई भेरियन्ट ड्यूल टोनामा पनि उपलब्ध हुनेछ । ड्यूल टोनमा म्यानुयलको ११ लाख ३ हजार र अटोमेटीकको १२ लाख ५३ हजार तोकिएको छ । साथै, जेडएक्सआई प्लस भेरियन्टको म्यानुयलको मूल्य १२ लाख ३० हजार र अटोमेटीकको १३ लाख ८० हजार तोकिएको छ । यसको पनि ड्यूलटोन कलर अप्सन उपलब्ध छ । ड्यूल टोनमा म्यानुयलको १२ लाख ४६ हजार र अटोमेटीकमा १३ लाख ९६ हजार भारतीय रुपैयाँ रहेको छ ।

नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ दिइएको छ भने ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरिएको छ । मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्ट/स्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग दिइएको छ ।

नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, ड्यूल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ । यसको इन्जिनमा भने कुनै परिमार्जन हुने छैन । अहिले ब्रेजा १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।





