काठमाडौं । विद्युतीय कारको विक्री बढ्न थालेसँगै विश्वका ठूला कार निर्माता कम्पनीहरुले सेडान र क्रसओभर कार निर्माणमा आफुलाई केन्द्रित गरेका छन् ।
अहिले बजारमा आइरहेका अधिकांश ब्याट्रीबाट चल्ने कारहरु क्रसओभर डिजाइनमा उपलब्ध छन् । यही साता विश्वका दुई ठूला कार उत्पादक कम्पनीले इलेक्ट्रीक सेडान कार सार्वजनिक गर्दै ईभीमा लग्जरी सेडानको बजार निकै धेरै बाँकी छ भन्ने संदेश दिएका छन् ।
जर्मन कार निर्माता कम्पनी फक्सवागेनले आफ्नो पहिलो इलेक्ट्रीक सेडान कार ‘आईडी एरो’ र हुन्डाईले आफ्नो प्रिमियम सेडान कार आयोनीक ६ सार्वजनिक गरेका हुन् ।
रेन्जको हिसावले उत्कृष्ट, फिचरको हिसावले लोडेड र पर्फर्मेन्सको हिसाले सोचेभन्दा राम्रो सेडान कारहरु बजारमा पाउन थालेसँगै एक पटक सेडान कारको बजार तिब्र विस्तार हुने अनुमान गरिएको छ ।
फक्सवागेनले एरो सेडानलाई चिनियाँ बजारबाट विक्री सुरु गर्ने जनाएको छ । हुन्डाईले आयोनीक ६ लाई कोरियन र अमेरिकी बजारबाट विक्री सुर गर्नेछ । कम्पनीको मुख्य लक्ष्य यूरोपियन बजार पनि हो ।
फक्सवागेन आइडी एरो

निकै प्रिमियम फिचरको साथ आउने फक्सवागन एरोमा एलइडी मेट्रिक्स हेडल्याम्प, एलइडी लाइट बार, सि आकारको फगल्याम्प हाउजिङ, स्पोर्टी एयरट्याङ्क, २२ इन्चको आकर्षक अलोय ह्वील प्रमुख फिचर हुन् । साथै, कालो कलरको रुफ, निकै स्मुद बडी प्यानल, स्मार्ट डोर ह्याण्डल, आकर्षक टेललाईट र बम्परले यसको सडकमा दमदार उपस्थिति देखाउने छ ।
फक्सवागेनले यसलाई ‘एमइडी इलेक्ट्रीक प्लेटफर्म’मा आधारित रहेर बनाएको हो । यसमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको मोटर पावरको विषयमा कुनै जानकारी दिइएको छैन । यसले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ ।
हुन्डाइ आयोनीक ६

हुन्डाईको इलेक्ट्रीक प्लेटफर्म ‘इजीएमपी इलेक्ट्रीक स्केटबोर्ड आर्किटेक्चर’मा बनेको आयोनीक सिक्स निकै आकर्षक देखिएको छ । नयाँ आयोनीक सिक्सको अगाडि र पछाडिको भागलाई झट्ट हेर्दा पोर्स्चेको भिन्टेज कारको याद दिलाउँछ ।
यसको इन्टेरियरमा दुईवटा १२ इन्चको स्कृन, फ्ल्याट बटम स्टेरिङ ह्वील, सफा र सफेद ड्यासबोर्ड, नयाँ सेन्टर कन्सोल, डाउनवार्ड स्लोपीङ डोर आर्मरेष्ट, ६४ थरी कलर परिवर्तन हुने एम्बीयन्ट लाइट, इन्ट्रीगेटेड डिजिटल मिरर पाउन सकिन्छ ।
लेगरुम बढाउन सहयोग पुग्ने भएकोले यसको ह्वीलवेस पनि निकै लामो दिइएको छ । नयाँ कारको ब्याट्री र अन्य फिचर आयोनीक फाइभसँग मिल्दो जुल्दो भएपनि रेन्ज भने केही बढेको छ । यो कारमा १६७ किलोवाट र २३८ किलोवाट क्षमताका मोटर प्रदान गरिएको छ । यसलाई कम्पनीले अल ह्वील र टु ह्वील ड्राइभ अप्सनमा ल्याउने छ ।


