को हुन् ६.१२ अर्बमा फेरारीको पहिलो ईभी किन्ने व्यक्ति ?

काठमाडौं । फेरारीको पहिलो इलेक्ट्रीक कार लुचे ६ अर्ब १२ करोड नेपाली रुपैयाँ अर्थात् ४ करोड अमेरिकी डलरमा लिलाम बिक्री भयो ।

मोन्टेरी कार सप्ताह अन्तर्गत शनिबार भएको विशेष लिलामीमा यो कारले अपेक्षाभन्दा निकै ठूलो मूल्य पाएको हो । लिलामी अघि लुचेको अनुमानित मूल्य ११ लाख अमेरिकी डलर आसपास रहने अपेक्षा गरिएको थियो ।

लुचे किन्न प्रतिस्पर्धा बढ्दै जाँदा यसको मूल्य अप्रत्याशित रूपमा उक्लिएर ४ करोड डलर पुगेको हो । यो रकम फेरारीको नियमित बजार मूल्यभन्दा कैयौँ गुणा बढी हो ।

लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउण्डेसनलाई जाने भएकाले यो बिक्रीलाई सामान्य कार बिक्रीभन्दा फरक रूपमा हेरिएको थियो । फेरारी फाउण्डेसन अमेरिकामा मान्यता प्राप्त सार्वजनिक परोपकारी संस्था हो ।

पहिलो लुचे खरिद गर्ने व्यक्ति ८७ वर्षीय अमेरिकी अर्बपति डा. हर्बर्ट वर्टहाइम बनेका छन् । ‘डा. हर्बी’का रूपमा समेत चिनिने वर्टहाइम पेशाले नेत्र चिकित्सक, आविष्कारक तथा दीर्घकालीन लगानीकर्ता हुन् ।


फोब्र्सले उनलाई पाँच दशकभन्दा लामो समय शेयर बजारमा लगानी गरेर ठूलो सम्पत्ति बनाएका ‘कम चिनिएका महान् लगानीकर्ता’का रूपमा उल्लेख गरेको छ ।

सन् १९३९ मा फिलाडेल्फियामा जन्मिएका वर्टहाइमका अभिभावक सामान्य आर्थिक अवस्थाका थिए । सन् १९६९ मा वर्टहाइमले पराबैजनी प्रकाशले आँखामा मोतीबिन्दु निम्त्याउन सक्ने विषयमा अनुसन्धान गरेका थिए । अहिले वर्टहाइमसँग १०० भन्दा बढी आविष्कारको पेटेन्ट रहेको बतान्छ ।

उनले आफ्नो व्यवसायबाट प्राप्त आम्दानीलाई शेयर बजारमा लगानी गर्दै गए । एप्पल र माइक्रोसफ्ट सार्वजनिक शेयर निष्कासनमा आएदेखि नै लगानी गरेका वर्टहाइम पछि अमेरिकी कम्पनी हाइकोमा सबैभन्दा ठूलो व्यक्तिगत शेयरधनीमध्ये एक बने ।

यही पृष्ठभूमिका कारण उनका लागि ४ करोड डलरको कार खरिद असाधारण भए पनि उनको कुल सम्पत्तिको तुलनामा ठूलो आर्थिक बोझ नहुने देखिन्छ ।

फेरारीले लुचेको नियमित बजार मूल्य करिब ६ लाख ४० हजार डलर आसपास तोक्ने बताइन्छ । फेरारीका लागि यो बिक्री आर्थिक रूपमा मात्र नभई ब्रान्डको इतिहासमा समेत महत्वपूर्ण घटना बनेको छ ।

पहिलो उत्पादन विद्युतीय कार नै ४ करोड डलरमा बिक्री हुनु फेरारीको विद्युतीय यात्राको सुरूआतलाई विश्व अटोमोबाइल बजारमा असाधारण चर्चाको विषय बनाउने घटना बनेको हो ।


Back_to_top