काठमाडौं । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो दुरीको बीपी राजमार्गको धुलिखेल-दाप्चा खण्ड दुई लेनमा स्तरोन्नति गरिने भएको छ ।
बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्म २० किमी सडक चौडा बनाइने भएको हो ।
यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डीपीआर अनुसार धुलिखेल-दाप्चा २० किमी सडकलाई १० मिटर बराबरको फराकिलो कालोपत्र गरिने छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा ५.५ मिटर छ ।
कार्यालय प्रमुख (सीडीई) सुमन योगेशले डीपीआर तयार पारी हाल प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको जानकारी दिए ।
‘बीपी राजमार्गको प्रस्तानबिन्दु धुलिखेलदेखि दाप्चासम्म २० किमी सडक दुई लेन फराकिलो बनाउन डीपीआर तयार भएको छ । अहिले वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ,’ उनले भने ।

डीपीआर अनुसार धुलिखेल–दाप्चा सडक विस्तार गर्न करिब ३ अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । यो सडक फराकिलो बनाई कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड ५ लाख खर्च हुने अनुमान गरिएको छ ।
सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ ।
बीपी राजमार्ग अन्तर्गत नै हाल भकुन्डेबेँसीदेखि खुर्कोटसम्मको ३०.५ किमी सडक पनि दुई लेनमा पुननिर्माण भइरहेको छ । २०८१ र ८२ हसोजमा आएको बाढीले क्षतिग्रस्त उक्त सडक ४ प्याकेजमा ठेक्का लगाइएको छ । काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ खण्डमा ठेक्का लगाई हाल पुननिर्माण भइरहेको हो । यो सडक नेपाल सरकारकै लगानीमा पुनर्निर्माण भइरहेको हो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ ।
भकुन्डेबेँसी-चारसयबेँसी ११ किमीको ठेक्का ठेक्का लामा-नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५२ लाख ९३ हजार २८७ रुपैयाँमा (भ्याटसहित) पाएको छ । यो खण्डको काम २ वर्ष (२०८४ असार १७ गते) भित्र सम्पन्न गर्नुपर्नेछ ।
त्यस्तै, चारसयबेंसी-डालाबेँसीसम्म ८.५ किमीको ठेक्का खानी-कमलजित-एवान जेभीले १ अर्ब ४२ करोड ३७ लाख ४८ हजार ७५९ रुपैयाँमा पाएको छ । यो खण्ड २०८४ जेठ २८ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
काभ्रेतर्फकै पिप्ले-सुख्खापहिरो-डालाबेँसी २.३ किमीको ठेक्का उमा एन्ड कम्पनी-भण्डारी-अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा पाएको छ । यसको काम २०८४ कात्तिक २६ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
सिन्धुलीतर्फको बर्खेखोला(नेपालथोक ५ किमीको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेको छ ।
बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो । यस सडक हुँदै दैनिक ५ हजार बढी सवारी साधन आवतजावत गर्छन् ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


