काठमाडौं । नेपालको विद्युतीय कार बजार कम मूल्यका गाडीमा केन्द्रित भएको छ । खासगरी ३० लाखदेखि ५० लाख रुपैयाँका विद्युतीय कारमा ग्राहकको ठूलो आकर्षण देखिन थालेको हो ।
कुनै समय ५० लाखदेखि ७० लाखसम्मका विद्युतीय कारमा ग्राहक झुम्मिएका थिए । तर, विस्तारै कम मूल्यका ईभीमा ग्राहकको आकर्षण बन्यो । त्यसो हुनुमा मुख्यतया दुई कुराले काम गरेको छ । पहिलो सरकारी कर र दोस्रो प्राइस वार हो ।
एमजीले ७० लाखमाथि देखि ८२ लाख रुपैयाँ भित्र मूल्य कायम गरेर आफ्नो दुईवटा क्रसओभर एसयूभी बिक्री गरिरहेको छ । पारामाउन्ट मोटर्सले एमजी एस-६ र एमजी आइएम-६ मोडल बिक्री गरिरहेको हो ।
एमजी एस-६ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ र आइएम सिक्सको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ छ । मूल्यमा १० लाख रुपैयाँको अन्तर भए पनि यी दुवै गाडीको आ-आफ्नै विशेषता, पावर, सुविधा, सुरक्षा र प्रविधि छन् । त्यसैले यी दुई आफैँमा विल्कुलै फरक छन् ।

एमजी एस-६ को सबैभन्दा ठूलो आकर्षण मूल्य अनुसार पाइने पावर र रेन्ज हो । यसमा ७७ किलोवाट आवरको ब्याट्री र १८० किलोवाट क्षमताको विद्युतीय मोटर छ । रियर ह्वील ड्राइभ सिस्टम भएको एमजी-६ सिंगल चार्जमा ५३० किलोमिटरसम्म चलाउन सकिन्छ ।
एस-६ को लम्बाइ ४७०८ मिलिमिटर, चौडाइ १९१२ मिलिमिटर र ह्वीलबेस २८३५ मिलिमिटर छ । यसमा १९५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । बुट स्पेश पनि ६७४ लिटरको पाइन्छ ।
गाडीको भित्री भागमा पनि मूल्य अनुसार पर्याप्त सुविधा उपलब्ध छन् । डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, उच्च गुणस्तरको म्युजिक सिस्टम, वायरलेस चार्जर, वायरलेस एप्पल कार प्ले र एण्ड्रोइड अटो पाउन सकिन्छ ।

हिटेड स्टेयरिङ, भेन्टिलेटेड र हिटेड सिट, ड्युलजोन क्लाइमेट कन्ट्रोल र ठूलो पानारोमिक रुफले यात्रु र चालक दुवैलाई आनन्ददायी यात्रा प्रदान गर्छ । सुरक्षाका हिसाबले एमजी पाइलट भित्रका करिब दुई दर्जन फिचरहरू पाउन सकिन्छ । यसका अलावा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा दिइएको छ ।
थप प्रिमियम एमजी आइएम-६
एमजी-६ भन्दा बढी प्रिमियम मोडलको रूपमा एमजी आइएम-६ लाई लिन सकिन्छ । यसको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ पर्छ । जुन एमजी-६ भन्दा १० लाख रुपैयाँ बढी हो । तपाईंले १० लाख रुपैयाँ बढी तिर्दा थप विलासी र प्रविधिमैत्री एसयूभी किन्न सक्नु हुन्छ ।
आइएम सिक्समा ७५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा करिब ४५० किलोमिटर यात्रा गर्न सकिन्छ । यसको लम्बाइ ४९०४ मिलिमिटर र चौडाइ १९८८ मिलिमिटर छ । यसमा २९५० मिलिमिटर लामो ह्वीलबेस दिइएको छ । लामो ह्वीलबेसको कारण भित्री भागमा यात्रुका लागि पर्याप्त स्थान पाउन सकिन्छ ।

आइएम-६को सबैभन्दा फरक विशेषता चारै पाँग्रा मोडिने प्रणाली हो । सामान्य गाडीमा स्टेयरिङ घुमाउँदा अगाडिका पाँग्रा मात्र मोडिन्छन् । तर, आइएम-६ मा पछाडिका पाँग्रा पनि आवश्यकता अनुसार मोडिन्छन् । यसले ठूलो आकारको गाडीलाई साँघुरो स्थानमा घुमाउन तथा पार्किङ गर्न सहज बनाएको छ ।
यसको भित्री भागमा २६.३ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । उच्च क्षमताको विद्युतीय संचालन प्रणाली, २० वटा स्पीकर, वायरलेस चार्जर, ठूलो ग्लास रुफ, वातावरण अनुसार उज्यालो परिवर्तन गर्ने क्षमता यसमा छ ।
एमजी आइएम-६ मा अगाडिको सिट हिटेड र भेन्टिलेटेड छ । स्टेयरिङमा पनि हिटेड सुविधा पाउन सकिन्छ । यसमा एडास भित्र निकै लामो सूची छ । सेन्सरहरूको व्यापक प्रयोग भएको छ । अगाडि हुन सक्ने सम्भावित ठक्करबारे जानकारी, आकस्मिक ब्रेक, लेक किप एसिस्ट, अटो होल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, ड्राइभर मोनिटरिङ सिस्टम जस्ता दुई दर्जन बढी फिचर छन् ।

यसरी हेर्दा एमजी एस ६ र आइएम-६ एउटै ब्राण्डका दुई फरक एसयूभी हुन् । उपभोक्ताले आफ्नो प्रयोग र आवश्यकता अनुसार छनोट गर्न सक्छन् ।
बजारमा यी दुई गाडीले एक्सपेङ जी-६, दीपल एस-०७, लीपमोटर सी-१० र बीवाइडी सिलायन-७ जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको थियो ।
नयाँ बजेटपछि उसको प्रतिस्पर्धीहरू बलियोसँग बजारमा आउन सकेका छैनन् । त्यसैले यो सेग्मेन्टमा यी दुवै क्रसओभर एसयूभी बलियो छन् । मूल्य अनुसार पाइने समग्र सुविधा हेर्दा एमजीले निकै आक्रामक मूल्यमा यी मोडल बिक्री गर्दै आएको देखिन्छ ।


