काठमाडौं । अहिले नेपालमा कम्बस्चन इन्जिन कि विद्युतीय भन्ने विषयमा चर्को बहस भइरहेको छ । यो बहस स्वभाविक पनि हो । धेरै मानिसमा अहिले कुन किन्ने भन्ने विषयमा अन्योल रहेको पाइन्छ ।
टाटाले नेपालमा तीव्र गतिमा फास्ट चार्जर नेटर्वक विस्तार गरिरहेको छ । कम्पनीले नेपालमा नेक्सन ईभी ल्याएको पहिलो वर्षमा नै देशका विभिन्न १६ स्थानमा चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । नेटवर्क विस्तारसँगै गाडीको विक्री पनि ७०० यूनिट पूरा गरिसकेको छ ।
अझैं पनि गाडी किन्न जाने मानिसमा नेक्सन पेट्रोल वा ईभी कुन किन्दा ठीक होला भन्ने आशंका रहेको पाइन्छ । भारत र नेपालमा नेक्सन ईभी र नेक्सन पेट्रोलमा ठ्याक्कै उल्टो छ । नेपालमा ईभी सस्तो छ भारतमा पेट्रोलबाट चल्ने मोडल । यस्तोमा पहिलो छनाैट नै ईभीकोतर्फ राम्रो देखिन्छ ।
ईभी किन्ने वा पेट्रोलबाट चल्ने नेक्सन किन्ने दुविधामा रहनु पहिले आफूले दैनिक कति किलोमिटर गाडी चलाउनु पर्छ भन्ने विषयले निर्धारण गर्न सक्छ । टाटा नेक्सन ईभीलाई एक पटकको फुल चार्जमा २२५ किलोमिटर हाराहारी चलाउन सकिन्छ भने पेट्रोल नेक्सनले प्रतिलिटर १२ किलोमिटरको औषत माइलेज प्रदान गर्छ ।

अब, दुई मध्ये प्रतिकिलोमिटर यात्रामा लाग्ने खर्च निकाल्नु बेस होला । नेक्सन ईभीमो ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । त्यसैले एक पटक यसलाई फुल चार्ज गर्न ३०.२ यूनिट बिजुली लाग्छ । अहिले हाम्रो घरमा औषत १० रुपैयाँ प्रतियूनिटमा बिजुली पाइन्छ । त्यसैले यसलाई फुल चार्ज गर्न ३०२ रुपैयाँको विद्युत् खपत हुन्छ । यसलाई काठमाडौंको सडकमा गुडाउँदा २२५ किलोमिटर रेन्ज पाइरहेको चलाउनेहरूले बताउने गरेका छन् । यसको मतलब १ रुपैयाँ ३४ पैसा प्रतिकिलोमिटर लागत नेक्सन ईभीमा लाग्छ ।

अब कुरा गरौं पेट्रोलको । नेक्सन पेट्रोलले १२ किलोमिटर प्रतिलिटरको औषत माइलेज दिने कुरा हामीले माथि नै उल्लेख गरेका छौं । आजको दिनमा प्रतिलिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ रहेको छ । यही हिसाबले यसको प्रतिकिमी यात्रा लागत १५ रुपैयाँ ८ पैसा पर्छ । यो खर्च इन्धनको मात्रै हो । इन्धनको अलावा नेक्सन पेट्रोलको लुब्रिकेन्ट, सर्भिस, वार्षिक सवारी कर, प्रदूषण परीक्षण जस्ता खर्चसमेत धेरै आउँछ । त्यसैले रनिङ कष्टको हिसाबले नेक्सन ईभी उपयुक्त छनोट हो ।
फिचर एउटै
दुवै कारमा पावर ट्रेन फरक भए पनि अन्य फिचर उस्तै पाउन सकिन्छ । ईभी स्वभावतः नयाँ टेक्नोलोजी भएको कारण आधुनिक र हाइटेक फिचर यसमा बढी हुनु स्वभाविक हो ।
त्यसमा पनि नेपालमा आफ्नै हाइड्रोपावरबाट आवश्यक बिजुली उत्पादन सुरू भएको कारण पेट्रोलको तुलनामा ईभी नै छनोट गर्नु उपयुक्त र बुद्धिमानी हुन्छ । तर, ईभीको सप्लाई कम भएको कारण टाटा ब्राण्ड र नेक्सन छनोट गर्ने सबैले विद्युतीय गाडी पाइहाल्ने अवस्था भने छैन ।

मूल्यमा ठूलो अन्तर
गाडी किन्ने मानिसले थोरै मूल्यमा धेरै फिचर खोज्नु पर्छ । सबैले गर्ने पनि त्यही हो । नेक्सन ईभी जेडएक्स प्लस लग्जरी भेरियन्ट र पेट्रोल भेरियन्ट एक्सजेड प्लस (एस) भेरियन्ट फिचरका हिसाब एउटै हुन् ।
ईभीको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ मात्रै छ । तर, पेट्रोलबाट चल्ने एक्सजेड प्लस (एस) भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको मतलब नेक्सन ईभी १३ लाख रुपैयाँ सस्तो रहेको छ । यही १३ लाखले ८/१० वर्षपछि ब्याट्री परिवर्तन गर्न पर्ने भएमा पनि पुग्ने छ ।
नयाँ टेक्नोलोजी, किफायती, प्रदूषणरहित र ध्वनीरहित कार मूल्यको हिसाबले पनि सस्तो पाउने भएपछि हरेकको रोजाइमा पर्नु स्वभाविक हो ।


