काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनको आयातमा लाग्दै आएको प्रतिबन्ध थप ४५ दिन बढाएसँगै अटोमोवाइलको कुम्भ मेला मानिने नाडा अटो शो २०२२ अनिश्चित भएको छ ।
नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा अटो शो आयोजना गर्ने तयारी गरिरहेको थियो ।
‘हामीले अहिले पनि अटो शोको तयारी तिब्र रुपमा गरिरहेका छौं । तर, सरकारले आयात प्रतिबन्ध लम्ब्याएपछिको अवस्थामा सदस्यहरुसँग सल्लाह गरेरै निर्णय लिन्छौं’, नाडा अटो शो २०२२ का संयोजक अनुपकुमार बरालले मेरोअटोसँग भने ।
सरकारले हिजो १० किसिमका बस्तुको आयात आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाउने सूचना राजपत्रमा प्रकाशित गरेसँगै नाडाका अध्यक्ष ध्रुब थापाले सरकारी निर्णय विकेकपूर्ण नरहेको फेसबुक मार्फत बताएका थिए । उनले सुपारी र सुनभन्दा अटोमोवाइल कसरी विलासी र अनुत्पादक भयो भनेर नीति निर्मातालाई प्रश्न गरेका थिए ।
नाडा अटो शोको बिषयमा अध्यक्ष थापाले मेरोअटोसँग भने, ‘गाडीको आयात रोकिएको तीन महिना भयो । अझै ४५ दिन आयात बन्द गर्ने भनेको छ । गाडी ल्याएर देखाउन सकिएला तर, बुकिङ लिन सकिने अवस्था रहेन । सरकारले कहिले आयात खोल्छ भन्ने एकिन नभएसम्म अटो शाे नगर्दा ठिक हुन्छ भन्ने धेरै ब्यवसायी साथीहरुको भनाई छ । आज बैठक बसेर निर्णयमा पुग्छौं ।’
थापाको भनाईलाई आधार मान्दा नाडा अटो शो २०२२ तत्कालको लागि स्थगित हुने देखिन्छ । साथै, मोटरसाइकलमा पनि आयातमा कडाई भएकै कारण मोटरसाइकल विक्रेता पनि नाडा अटो प्रति सकारात्मक देखिएका छैनन् ।

