शोरुम बन्द गर्ने अवस्थामा पुग्दै एक दर्जन मोटरसाइकल ब्राण्ड

काठमाडौं । सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै करिब एक दर्जन ब्राण्ड आफ्नो शोरुम बन्द गर्ने अवस्थामा पुगेका छन् । यसअघि बैशाख १४ गतेबाट नै २५० सीसी माथिका मोटरसाइकलको आयात रोकिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्ध लगाएसँगै रोयल इनफिल्ड, जावा, क्रसफायर, केटीएम, हस्कभर्ना, बीएमडब्ल्यु, सी–एक्स, एसियन बिस्ट, डुकाटी, एमभी अगस्टा लगातय ब्राण्डका कुनै पनि मोडल बजारमा उपलब्ध हुने छैनन् । किनभने यी ब्राण्डसँग १५० सीसीभन्दा कम क्षमताका मोटरसाइकल उपलब्ध छैनन् ।

चैतमा एलसी खोलेका केही संख्यामा मोटरसाइकल आइसकेका छन् । त्यसयता नयाँ एलसी नखुलेको कारण यी ब्राण्डका शोरुम चाँडै खाली हुने अवस्था आएको हो । यी कम्पनीका मोटरसाइकलहरु दशैंंको आसपासमा बजारमा उपलब्ध नहुने अवस्था आउने देखिन्छ ।

नेपाली बजारमा रोयल इनफिल्डले २ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने सबै मोटरसाइकल ३५० सीसी क्षमताका छन् । जसमा क्लासीक ३५० र मेटीअर ३५० मुख्य हुन् । अहिले उपलब्ध मोटरसाइकल विक्री भएपछि नयाँ लट कहिले आउँछ भन्ने एकिन छैन । रोयल इन्फिल्डका मोटरसाइकल बैशाखदेखि नै आयात बन्द छ ।

त्यस्तै जावाले तीन मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ भने यी सबै मोटरसाइकल ३०० सीसीभन्दा माथिका छन् । जावा, जावा फोर्टी टू र जावा पेराकको आयातमा प्रतिबन्ध लागेको पनि ३ महिना हुन लागेको छ । कम्पनीसँग भएको स्टक सकिएसँग जावाको पनि शोरुम खाली हुनेछ ।

त्यसैगरी क्रसफयारले विक्री गर्ने ट्रेकर २५०, आरएम २५० र एचजे २५० को आयात समेत बन्द भएको हो । धेरै संख्यामा मोटरसाइकल स्टकमा नराख्ने क्रसफायरका उत्पादन आयात साउन १ गतेबाट मात्रै रोकिएको हो ।

त्यस्तै बीएमडब्लूका दुई मोडल जी ३१० जीएस र जी ३१० आर पनि विगत ४ महिनादेखि एलसी खोल्न बन्द गरिएका मोटरसाइकल हुन् । बीएमडब्लूको शोरुम पनि चाँडै खाली हुने अवस्थामा छ ।

एसियन विस्टको सी एक्स २५०, केटीएम ड्यूक २५०,  ३९० ड्यूक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर, केटीएम २०० आरसी, ३९० आरसी र हस्कभर्ना २५० ट्वीनको आयातमा पनि प्रतिबन्ध लागेको छ ।


Back_to_top