काठमाडौं । बिक्रम संम्वत २०७८ साल भदौ २५ गतेबाट मैले चलाउन थालेको हुन्डाई भेन्यूले १० हजार किलोमिटर यात्रा पुरा गरेको छ । साउन २१ गते १० हजार किलोमिटर यात्रा पुरा गरेको भेन्यूको तेस्रो सर्भिसिङ साउन २६ गते गराएपछि एउटा अनुभव लेख्ने इच्छा जाग्यो ।
चार मिटरभन्दा केही मिलिमिटर छोटो साइजमा उपलब्ध भेन्यू हेर्दा जति साधारण डिजाइनमा देखिन्छ, त्योभन्दा बढी पर्फमेन्स पाउन सकिने गाडी हो । यसको सबैभन्दा बलियो पक्ष भनेकै सिटिङ पोजिसन हो । निकै आरामदायी सिटिङ पोजिसन भएको गाडीले १० हजार किलोमिटर यात्रा गर्दा करिब ८३४ लिटर पेट्रोल खर्च भएको छ । औषतमा गाडीले प्रतिलिटर १२ किलोमिटर रेन्ज प्रदान गरेको छ ।
थोरै इन्जिनको कुरा गरौं । भेन्यूमा हुन्डाईले उत्पादन गरेको १.२ लिटर क्षमताको कप्पा पेट्रोल इन्जिन छ । इन्जिनको आवाज क्यानिवनमा आउँदैन । आवज नआउने हुँदा कति समय कार स्टार्टमै भएपनि पुनः स्टार्ट गरेको अनुभव मसँग छ । यसमा दिइएको ५ स्पीड म्यानुयल गियरबक्स निकै स्मुद लाग्छ । गियरबक्स र इन्जिनको कम्बीनेसन निकै उत्कृष्ट छ ।
हुन्डाई नेपालमा निकै उत्कृष्ट र सफल ब्राण्ड मानिन्छ । विशेषत रिकन्डिसन बजारमा निकै राम्रो मूल्य, बलियो सेल्स, सर्भिस र स्पेयर पार्टस्को नेटवर्क भएकै कारण हुन्डाई कार चढ्ने मेरो इच्छा थियो । मेरो सोचलाई भेन्यूले निरास बनाएन ।
मैले चलाएको भेन्यू एस प्लस मोडल हो । यसमा दिइएको अटोमेटीक एसी, सिल्भर फिनिसिङमा सजिएको एसी भेन्ट, फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, लेदर र्याप स्टेरिङ ह्वील, रेग्जीन सिट, फराकिलो क्याविन, फ्रन्ट आर्म रेष्ट, फास्ट मोवाइल चार्जर पोर्ट, रियर एसी भेन्ट जस्ता फिचरले चालक र यात्रुको आवस्यकता पुरा गर्छ ।
ठूलो फ्रन्ट ग्रिल, स्लीकर एलइडी डे टाइम रनिङ लाइट, १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, अलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, ठूलो बडी क्लाडिङ जस्ता फिचरले यसको बाहिरी लुक्स पनि निकै मस्कुलर देखिन्छ ।

मैले एक वर्ष भेन्यूमा यात्रा जुन अनुभव गरेँ, त्यो मैले सेचेभन्दा बढी पाएँ । तर, यस बीचमा मैले अनुभव गरेका केही कमजोर पक्ष पनि छन् । भेन्यूको पछाडिको डिजाइन सेग्मेन्टमा उपलब्ध अन्य गाडीको तुलनामा कमजोर देखिन्छ । त्यसलाई फेसलिफ्ट मोडलबाट हुन्डाईले सुधार गरिसकेको छ ।
अर्को यसको सर्भिसिङ समय छिटो छिटो आउने गर्छ । बजारमा अन्य कम्पनीले ५ हजारदेखि १२ हजार किलोमिटर भित्रमा सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेका छन् । तर, हुन्डाईले हरेक ४ महिना वा ४ हजार किलोमिटर भित्र अनिर्वाय सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेको छ । यो थोरै झन्झटिलो लाग्छ ।
तर, सर्भिस सेन्टरमा गरिने ब्यवहार र सर्भिसपछिको फलोअप भने उत्कृष्ट छ ।
अन्त्यमा, झण्डै ११ महिना भेन्यू चलाउँदा यसको अधिकांश पक्षमा प्रश्न उठाउनु पर्ने अवस्था छैन । यसको एसयूभी फिलबाट सहरी क्षेत्रमा यात्रा गर्दा निकै सहज, रोमान्चक र आरामदायी महसुस गर्न सकिन्छ ।


