फ्रान्सको अटो निर्माता कम्पनी रेनोले भारतीय बजारमा क्वीडको इलेक्ट्रीक भेरियन्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
निकै राम्रो बिक्री भैरहेको क्वीडले मारुती सुजुकीको अल्टो ट्वीन्सलाई छायाँमा पार्ने आँकलन गरिएको छ ।
क्वीडको इलेक्ट्रीक भर्सनको मूल्य ६ लाख भारतीय रुपैयाँ निर्धारण हुने कम्पनीले जनाएको छ । यसले इलेक्ट्रीक मोडल महिन्द्रा ई–२० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
‘सीएमएफ–ए अवधारणा भारतमा विस्तार भैरहेको छ । नयाँ योजनामा चिनीयाँ समकक्षीहरूले ब्याट्री तथा ब्याट्री व्यवस्थापनको प्रयोग गर्नेछन् । यो मोडल करिब १२ देखि १८ महिनामा चिनीयाँ बजारमा सार्वजनिक हुनेछ’, ई-क्वीड निर्माता कम्पनीसँग सम्बद्ध स्रोतले बतायो ।
रेनोले २०२२ को वैश्विक रणनीतिअन्तर्गत इलेक्ट्रीक गाडी ल्याउने घोषणा गरेको थियो ।
इलेक्ट्रीक भर्सन चीनमाभन्दा पहिला भारतीय बजारमा सार्वजनिक हुने स्रोतको दाबी छ ।
रेनोका चेयरम्यान इभेन कार्लाेस गोसनले इन्डिया, ब्राजिल र मध्यम-पूर्वीय देशमा यो मोडल सार्वजनिक हुनेबारे कुनै शङ्का नभएको बताएका छन् । रेनोले २०२२ को वैश्विक रणनीतिअन्तर्गत इलेक्ट्रीक गाडी ल्याउने घोषणा गरेको थियो ।
रेनो इन्डियाका म्यानेजिङ डायरेक्टर सुमित स्वानीले भने ईभी मोडलको निर्माण योजनाबारे जानकारी दिन निकै चाँडो भएको बताएका छन् । यसबारे टिप्पणी गर्दै उनले भने, ‘इलेक्ट्रीक भेहिकल अपरिहार्य र अनिवार्य भएको छ । ई-भेहिकल निर्माणको लागि मुख्यतः परफर्मेन्स, रेञ्ज र कस्ट तीन चुनौतीको सामना गर्नुपर्छ । त्यसैले, अहिले नै मोडल निर्माणबारे टिप्पणी गर्नु उचित कुरा हैन ।’
उनले उत्कृष्ट उत्पादन बजारमा ल्याउनु जरुरी भएको भन्दै ४० प्रतिशत कस्ट ई-भेहिकलको ब्याट्रीमा लगाउनुपर्ने बाध्यता भएको बताएका छन् । साथै, स्वानीले भारतीय बजारमा यो मोडल सार्वजनिक हुुनु निकै उत्साहको कुरा भएको बताए ।

