तयार हुँदै ‘कार डिजाइन अवार्ड २०२२’ जित्न सफल अफरोड एसयूभी

काठमाडौं । टोयोटाले सन् २०२२ को सुरुवातमा करिब १५ नयाँ मोडलका ईभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । यी कन्सेप्ट मध्ये कम्प्याक्ट क्रुजर मोडलले ‘कार डिजाइन अफ दि इयर २०२२’ अवार्ड जित्न सफल भएको थियो ।

आफ्नो अवार्ड विजेता डिजाइनलाई टोयोटाले उत्पादनको लागि तयार पारिरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ‘बेबी एफजे क्रुजर’ नाम दिइएको यो सानो अफरोड एसयूभी सन् २०२३ को अन्तिमबाट बजारमा आउने अपेक्षा गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको विभिन्न नयाँ कन्सेप्ट मध्ये मध्ये दुई मोडलको अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु भइसकेको छ । टोयोटा बीजेड-४ एक्स क्रसओभर एसयूभी र बीजेड ३ सेडान कारको विक्री सुरु भएको हो । टोयोटाले बीजेड ३ चीनमा बीवाइडीसँगको सहकार्यमा तयार गरेको हो भने क्रसओभर बीजेड-४ एक्स आफु एक्लै बनाएको हो ।

सन् २०३० सम्ममा वार्षिक ३५ लाख यूनिट इलेक्ट्रीक कार विक्री गर्ने योजना बनाएको टोयोटाले आफ्नै लक्ष्य भेट्टाउन पनि तिब्र गतिमा नयाँ मोडल उत्पादन गर्नु पर्ने हुन्छ ।

बक्सी डिजाइनमा तयार पारिएको कम्प्याक्ट क्रुजर टोयोटाको आइकोनिक नेम प्लेट ल्याण्डक्रुजरबाट लिइएको हो । नाम जस्तै यसको डिजाइनमा पनि क्रुजर फ्यूजन देख्न सकिन्छ । अगाडिको भागमा निकै ठूलो साइजमा दिएको स्कीड प्लेट र त्यसमा राखिएको मोडल नामले यसलाई आकर्षक देखाएको छ । साथमा टोयोटाले यूनिक ग्रिलको प्रयोग गरेको देखिन्छ ।

दुई हेडलाइटको बीचमा लेखिएको टोयोटा अर्को आकर्षण हो । डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम, आकर्षक बोनेट, ड्यूल टोन बडी कलर, मस्कुलर ह्वील, अफरोड लक्षित टायरले यसको लुक्स दमदार बनाएको छ ।

टोयोटाले यसमा कुन साइजको ब्याट्री र मोटर रहन्छ भन्ने विषयमा केही खुलाएको छैन । टोयोटाले विश्वव्यापी रुपमा चर्चामा रहेको कार्वन उत्सर्जन रोक्न आफु प्रतिवद्ध रहेको जनाएर ईभी विकासमा थप लगानी बढाउने योजना अघि सारेको हो ।


Back_to_top