काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी विभिन्न तीन भेरियन्टमा बजारमा आउने भएको छ । कम्पनीले एक्सयूभी ३०० मा आधारित रहेर तयार पारेको एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी ‘वेस, इपी र इएल’ गरी तीन भेरियन्टमा आउने भएको हो ।
अहिले कुन भेरियन्टमा के कस्ता फिचर समेटिएका छन् भन्ने विषय बाहिर नआएपनि टप इएल भेरियन्टमा ७ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, महिन्द्राको एड्रियानो एक्स सफ्टवयर, सिंगल पीस शनरुफ, कनेक्ट कार टेक्नोलोजी, ६ वटा एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, जस्ता फिचर समावेस हुने छन् ।
महिन्द्राको दावी अनुसार एक्सयूभी ४०० मात्र ८.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ । यसको टप स्पीड १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसका आधारमा महिन्द्रा एक्सयूभी ४०० भारतमा निर्माण भएको ईभी मध्ये सबैभन्दा छिटो कुद्ने ईभी हो ।
कम्पनीले एक्सयूभी ४०० मा ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ । यो एसयूभीलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । तर, ब्याट्री साइज र मोटर साइजलाई आधार मान्ने हो भने यसको वास्तविक रेन्ज ३०० किलोमिटर हाराहारी हुनेछ ।
एक्सयूभी ४०० मा फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटर दिएको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार यसमा ११४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । त्यो भनेको १५० पीएस पावर र ३१० एनएम टर्क हो ।
सेफ्टी फिचरको मामलामा पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ । यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ । महिन्द्राकोे एक्सयूभी ३०० ले पहिला नै ग्लोबल एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएकाले यो एसयूभी पनि ५ स्टार रेटिङने पाउनेमा कम्पनी विश्वस्थ रहेको छ ।
महिन्द्राको एक्सयूभी ४०० ईभीमा ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यो चार्जरले चार्ज गर्दा एक्सयूभी ४०० को ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्छ । यो एसयूभीलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै बजारमा पाइने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिने छ ।
आगामी जनवरीबाट महिन्द्राले यसको विक्री वितरण सुरु गर्ने तयारी गरिरहेको छ । भारतमा विक्री सुरु भएको केही महिनापछि नेपाल पनि आउन सक्ने यो एसयूभीमा १०० किलोवाट माथिको मोटर जडान भएको कारण मूल्य भने महंगो हुने अनुमान लगाउन सकिन्छ ।

