काठमाडौं । विद्युतीय कार प्रति बढ्दो क्रेजको कारण विभिन्न कम्पनीले नयाँ नयाँ मोडल ल्याएर नेपालमा विक्री गर्दै आएका छन् । अहिले कम्बस्चनको तुलनमा विद्युतीय कार किन्न सहजै कर्जा उपलब्ध हुनु र पेट्रोलको मूल्य आकाशिनुले पनि ईभी प्रति धेरैको चासो बढेको हो ।
अहिले टाटा, हुन्डाई, बीवाइडी, निसान, एमजी लगायतका ब्राण्डले विद्युतीय कार विक्री गर्दै आएका छन् । ईभीमा किया नेपालको लागि पुरानो खेलाडी हो । यस्तोमा कियाले निरो ईभी नेपाल ल्याउने तयारी गरिरहेको छ । १०० किलोवाट क्षमताभन्दा माथिको मोटर जडान भएको मोडलमा धेरै कर लाग्ने कारण आयात रोकिएको निरो १०० किलोवाट क्षमताको मोटरमा आउने भएको हो ।
त्यसैगरी भारतीय ब्राण्ड महिन्द्राले पनि आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० नेपाल ल्याउने छ । भारतमा जनवरी २०२३ बाट विक्री सुरु हुने एक्सयूभी ४०० अप्रिलसम्ममा नेपाल आउने अनुमान गर्न सकिन्छ । यसमा भने ११० किलोवाट क्षमताको मोटर रहने छ ।
किया निरो नयाँ जेनेरेशन मोडलको तयारी भइरहेको छ । त्यसैले यसलाई पनि कम्पनीले २०२३ को पहिलो क्वाटरसम्ममा बजारमा ल्याउने अपेक्षा गर्न सकिन्छ । कोरियन निर्माताले यसमा हुन्डाई कोनाको जस्तै समान ३९.२ किलोवाट आवरको ब्याट्री दिएको छ भने अधिकतम १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । डब्लूएलटीपीको परिक्षण अनुसार यसले सिंगल चार्जमा २८८ किलोमिटर रेन्ज दिनेछ ।
किया निरोमा वाइ-फङ्गसन एलइडी हेडल्याम्प, १०.२५ इन्चको टचस्कृन, यूभिओ कनेक्टेड कार टेक, जेबीएलको ८ स्पीकर, अगाडि र पछाडि पार्किङ सेन्सर, अगाडि र पछाडि नै हिटेड सिट, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट क्लष्टर लगायतका फिचर दिएको छ ।

ब्याट्री साइजको आधारमा महिन्द्रा एक्सयूभी ४०० मा पनि निरोको जस्तै साइज उपलब्ध रहने छ । कम्पनीले यसमा ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यो एसयूभीलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेपनि ३०० किलोमिटर माथि रेन्ज पाउन मुस्कील पर्ने छ ।
एक्सयूभी ४०० मा फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटर दिएको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार यसमा ११४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । त्यो भनेको १४९ पीएस पावर र ३१० एनएम टर्क हो ।
महिन्द्राको एक्सयूभी ४०० ईभीमा ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यो चार्जरले चार्ज गर्दा एक्सयूभी ४०० को ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्छ । यो एसयूभीलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै बजारमा पाइने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमा फुल चार्ज हुन्छ ।

