काठमाडौं । गत बैशाख १४ गतेदेखि आयात बन्द भएको वस्तुहरूको आयात आज पुस १ गतेबाट खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पटक पटक राजपत्रमा सूचना प्रकाशित गर्दै आयात प्रतिबन्ध लगाएको गाडी, मोटरसाइकल तथा मदिराको आयात खुला भएको हो ।
मन्त्रिपरिषद्को मंसिर २१ गतेको निर्णय अनुसार आजदेखि सम्पूर्ण वस्तुको आयात खुला भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
‘हामीले आवश्यक प्रक्रिया पूरा गरेर वस्तु आयातको व्यवस्था मिलाउन बैंकहरूलाई भनेका छौं । बैंकहरूले प्रतितपत्र (एलसी) खोल्ने काम सुरू गरिसकेका छन्,’ पोखरेलले मेरोअटोसँग भने ।
बैंकहरूले आजैबाट एलसी खोल्न थालेका छन् । मन्त्रिपरिषद बैठक अनुसार केन्द्रीय बैंकले एलसी खोल्न बाटो खुला गरेसँगै बैंकहरूले एलसी खोल्न थालेका हुन् ।
‘आजबाट प्रतिबन्धमा रहेका सबै वस्तुको एलसी खोल्न सुरू भएको छ । तर, मार्जिनको हकमा कुनै नयाँ व्यवस्था नभएकोले पहिलेकै जति मार्जिन लिएर एलसी खोल्न थालेका छौं,’ एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्गले मेरोअटोसँग भने ।
अघोषित रूपमा चैत २१ गतेबाट आयात प्रतिबन्ध भएको पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप, भ्यान, १५० सीसी माथिका मोटरसाइकल, मदिरा लगायतका वस्तुको आयात खुला भएको हो ।
सरकारको राजश्वमा दबाब पर्नु, अटोमोबाइल व्यवसायी आन्दोलनमा उत्रनु र मदिरा लगायतका वस्तु चोरीको बाटोबाट आयात हुन थालेसँगै सरकारले आयात प्रतिबन्ध हटाएको हो ।
एलसी खुला भएपनि बजारमा तरलता अभावको प्रभाव उत्तिकै रहेको कारण धेरै कम्पनीहरूले तत्काल ठूलो परिमाणमा गाडीको आयात खुला गर्ने अवस्था रहेको छैन ।
‘आयात खुला त भयो तर, महंगो ब्याजदर र तरलता अभाव रहेकै कारण धेरै गाडी ल्याउन सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले जथाभावी बैंकले लिइरहेको प्रिमियम नियन्त्रण गर्ने र तरलता सहजता गर्ने काम नगरेसम्म धेरै गाडी ल्याउन सक्ने अवस्था छैन,’ नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मेरोअटोसँग भने ।
नाडाले ब्याजदर नियन्त्रण, चालु पूँजी कर्जा स्थगन, सहजकर्जाको उपलब्धता लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ ।

