काठमाडौं। नेपाली बजारमा जुन गतिमा ब्याट्री इलेक्ट्रीक भेहिकल प्रयोगकर्तामा चर्चा भइरहेको छ, त्यहि गतिमा नयाँ नयाँ ईभीहरु नेपाल आइरहेका छन् ।
कम मूल्यका ईभी आयात गर्ने प्रतिस्पर्धा चलेसँगै साना सिटी कारको आयात बढेको छ भने प्रयोगकर्ता पनि बढिरहेका छन् । हुन त सुरुवाती दिनमा नेपाल आएका ईभी सानानै थिए ।
नेपाल आएको पहिलो कार रेभा र त्यसपछि आएको महिन्द्राको इटुओ सहर केन्द्रित साना कार हुन् । त्यसपछि डेरी र दिगो लगायतका ब्राण्डले साना ईभी ल्याए र राम्रै संख्यामा बेचे । तर, यस्ता साना कार विक्री गर्ने ब्राण्डले निरन्तरता भने पाएका छैनन् ।
साना कारको बजार देखेर अहिले दुई चाइनीज ब्राण्ड हेनरी र विलिङले आफ्ना उत्पादन नेपाल ल्याएका छन् । पायोनीयर वर्ल्डवाइडले हेनरी र ईभी नेपाल प्रालिले विलिङको एयर मिनी ईभी विक्री थालेका छन् ।
हेनरी ईभी चीनमा उत्पादन भएको हो भने विलिङ एयर मिनी इण्डोनेशियामा उत्पादन भएको कार हो । २० देखि ३० लाखमा रुपैयाँ तिरेर खरिद गर्न सकिने यी दुबै कार इन्ट्री लेवल ईभी किन्न चाहने ग्राहकलाई लक्षित गरेर विक्री सुरु भएका ब्राण्ड हुन् ।

विलिङ एयर मिनीको मूल्य २४ लाख ९९ हजार रहेको छ भने, हेनरी ईभीको मूल्य २३ लाख ५० हजार रहेको छ । हामीले यहाँ विलिङ एयर ईभीको स्ट्याण्डर्ड भेरियन्ट र हेनरी ईभीको बीच तुलना गरेका छौ ।
हेनरी बेइजीङ अटोमोवाइल टेक्नोलोजी कम्पनीले बनाएको इलेक्ट्रीक कार हो भने एयर ईभी जनरल मोटर्स, एसएआईसी र विलिङ कम्पनीले मिलेर विकास गरेको प्रोडक्ट हो ।
कारको साइज तथा बनावट
हेनरी रेगुलर ह्याचव्याक कारको डिजाइनमा बनेको छ । यसको बनावट बाटोमा भेटिने अन्य कम्पनीको कारहरु जस्तै रहेको छ । तर, एयर ईभीको डिजाइन भने विलकुलै फरक टल ह्याच डिजाइनमा छ ।
एयर मिनीलाई टाढैबाट चिन्न सकिन्छ । यी दुईको साइजको तुलना गर्दा हेनरी विलिङभन्दा ४०६ एमएम लामो छ । तर, चौडाई र उचाई भने विलिङको क्रमशः ६ एमएम र २१ एमएम बढी छ ।

हेनरी ५ ढोका भएको कार हो भने विलिङ एयर ईभी ३ ढोका मात्र भएको कार हो । हेनरी चालकसहित ५ जनाले यात्रा गर्न मिल्ने कार हो भने विलिङ एयर ईभीमा ४ जना मात्र यात्रा गर्न मिल्छ ।
इन्टेरियरको भिन्नता
हेनरीको इन्टेरियर पनि बडी कलरसँग म्याच गराइएको छ । पीयू लेदर सिट र ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम हेनरीमा पाउन सकिन्छ । साथै, दुई स्पीकर, यूएसबी पोर्ट, व्लुटुथ कनेक्टीभीटी, एसी, हिटर, रियर पार्किङ सेन्सर र पार्किङ क्यामरा यसमा पाउन सकिन्छ ।
हेनरी कारमा सबै ढोकामा पावर विन्डो, गियर कन्ट्रोल सुइचहरु ड्यासबोर्डको सेन्टरमा दिएको छ । त्यसको ठिक तल एसी कन्ट्रोल सुइचहरु पाउन सकिन्छ । यसमा इको र स्पोट्स मोडगरी दुई मोडमा चलाउन सकिन्छ । यसमा म्यानुअल ह्याण्ड ब्रेक रहेको छ ।
विलिङ एयर ईभीको ड्यासबोर्ड मोर्डन डिजाइन छ । हामीले तुलना गरेको विलिङ एयरको स्ट्याण्डर्ड भेरियन्टमा ७ इन्चको टीएफटी इन्फोटेन्मेन्ट र ड्राइभर इन्फर्मेसनका लागि सिंगल स्कृन दिएको छ । एयर मिनीको स्कृनमै रिमेनिङ ब्याट्री पावर र किलोमिटरका साथै चार्जिङ स्टाटस समेत देखाउँछ ।
विलिङ मिनीको स्टेरिङ ह्वीलमा मल्टिफङ्सन फिचर रहेको छ । यसमा पनि दुई स्पीकर, यूएसबी पोर्ट र व्लुटुथ कनेक्टीभीटी सुविधा पाउन सकिन्छ । यसको इन्टेरियर ह्वाइट थीममा छ । गियर सेलेक्टर पनि ड्यासबोर्डमा नभई तलपट्टी दिइएको छ ।
यसमा पनि म्यानुअल एसी, म्यानुअल ह्याण्ड ब्रेक दिइएको छ । यसमा ड्राइभ, ईको र स्पोट्स गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ । इलेक्ट्रीक पावर विण्डो रहेको छ । थ्री डोर मात्र रहेकोले एयर ईभीमा यात्रुहरु पछाडि सिटमा बस्न र ओर्लनको लागि अगाडि साइडको सिटलाई फोल्ड गर्नु पर्ने हुन्छ ।
दुबै कारमा फ्रन्ट सिटको अगाडि बीचमा ओपन स्पेश रहेको छ । जसले गर्दा अगाडि बस्ने दुबै चालक र यात्रुलाई धेरै लेग स्पेश पाउन सकिन्छ ।
एक्टेरियर डिजाइन
हेनरीको बनोट बक्सी टलव्वाय स्टाइलको छ । यसको अगाडि आकर्षक डिजाइन ठूलो साइजको हलोजीन हेडल्याम्प तथा क्लोज ग्रिल रहेको छ । अगाडिको बम्पर डिजाइन मस्कुलर दिएको छ । रियर ह्वील ड्राइभसहित आउने यो कारमा १३ इन्चको एल्मुनीयम ह्वील पाउन सकिन्छ । हेनरीको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ । यसमा २०० लिटरको बुट स्पेस पाउन सकिन्छ ।

विलिङ एयर ईभी एथेन्टीक मिनी कार हो । फ्यूचरिस्टीक डिजाइनमा बनेको ४ सिट क्षमताको कारमा अगाडि बम्परको साइज एकदमै सानो छ । अगाडि दुबै साइडमा हलाेजीन हेडल्याम्प र पछाडि सानो बुट स्पेस पाउन सकिन्छ । यसको पछाडिको सिट पूरै फोल्ड गर्न मिल्ने भएकाले ठूलो लगेज राख्ने ठाँउ बनाउन सकिन्छ । विलिङ एयर मिनीमा १२ इन्चको स्टिल ह्वील र १४५ एमएमको मात्र ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
मोटर तथा व्याट्री साइज
विलिङ एयर मिनीमा स्ट्याण्डर्ड आइपी ६७ रेटेड १७.३ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री छ । यसलाई सिंगल चार्जमा २०० किलोमिटरसम्म चलाउन मिल्ने दावी गरिएको छ ।
यसलाई २.२ किलोवाटको एसी चार्जरले चार्ज गर्दा ८ घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । ३० किलोवाट क्षमताको मोटर रहेको कारमा १ लाख २० हजारका किलोमिटर वा ८ वर्षको ब्याट्रीमा वारेन्टी दिएको छ ।
हेनरीमा पनि १७ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । एक पटकको फुल चार्जमा २१५ किलोमिटर चलाउन मिल्ने कम्पनीको दावी छ । यसलाई ३.३ किलोवाटको चार्जरले ५ देखि ६ घण्टामा फुल चार्ज गर्नेछ ।
रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको कारमा ३५ किलोवाट क्षमताको मोटर छ । कम्पनीले यसमा रहेको ब्याट्रीमा ५ वर्ष र मोटरमा ३ वर्षको वारेन्टी दिएको छ ।
सुरक्षा फिचर
विलिङ एयर ईभीको स्ट्याण्डर्ड भेरियन्टमा सुरक्षाका लागि अगाडि दुई एयरव्याग, इबीडीसहितको एबीएस, आइएसओ फिक्स चाइल्ड सिट, टायर प्रेसर मोनिटर, अटोडोर अनलक इम्प्याक जस्ता फिचर छन् ।

हेनरीमा पनि सुरक्षाका लागि तथा इवीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर तथा क्यामरा, रिमोट सेन्टल लक, पावर विण्डो आदि रहेका छन् ।
निश्कर्ष
हेनरी र विलिङ मध्ये जुन कार किने पनि तपाईले हाइवे यात्रा गर्ने सोच नबनाउँदा राम्रो हुन्छ । दुबै गाडी सहरको लागि ठिक छन् । कम पार्किङ स्पेश, अत्यन्त न्यून संचालन लागत, चलाउन सहज भएको कारण यी दुबैलाई सिटी कार मानिएको हो ।
सुरक्षाको हिसावसँगै डिसी फास्ट चार्जर सपोर्ट नगर्ने भएको कारण दुबै कार हाइवेमा लान सकिदैन । यदि तपाई रेगुलर डिजाइनको सिटी कारको खोजीमा हुनुहुन्छ भने तपाई हेनरी ईभी किन्न सक्नु हुन्छ । होइन पृथक डिजाइन र आधुनिक ईभी तपाईको रोजाईमा पर्छ भने विलिङ मिनी किन्न सक्नु हुन्छ ।
दुई कार बीच धेरै भिन्नता भएपनि मूल्यमा भने १ लाख ४९ हजार रुपैयाँको मात्रै फरक छ । विलिङ एयर मिनीको मूल्य २४ लाख ९९ हजार छ भने हेनरी ईभीको मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

