काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले आफ्नो पहिलो प्रिमियम ह्याचव्याक कार सीथ्रीको इलेक्ट्रीक भर्सनमा उपलब्ध टेक्नीकल डिटेल सार्वजनिक गरेको छ । सन् २०२३ को पहिलो क्वाटरबाट विक्री सुरु हुने यो ह्याचव्याक अहिले विक्री भइरहेको सीथ्रीमा आधारित ईभी हो ।
सिट्रोनले आफ्नो पहिलो इलेक्ट्रीक मोडललाई कम्बस्चन इन्जिनको सीथ्रीमै आधारित रहेर तयार गरेको कारण एक्स्टेरियर र इन्टेरियरमा ठूलो भिन्नता पाउँन सकिदैन । तर, यसको अगाडिको ग्रिल र ड्यासबोर्डमा भने केही परिवर्तन देख्न सकिन्छ ।
कारको अगाडि भागमा चार्जिङ पोर्ट दिइएको छ भने, गियर नब भएको स्थानमा रोटेड नब दिइएको छ । यसले गाडीलाई कन्ट्रोल गर्छ । सिट्रोन सीथ्री इलेक्ट्रीकमा चिनियाँ कम्पनी एसभोल्टले बनाएको २९.२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।
सामान्य घरायसी विजुलीमा चार्च गर्न सकिने ३.३ किलोवाट क्षमताको एसी चार्जर यसमा अनबोर्ड उपलब्ध छ । यसमा सीसीएस २ चार्जिङ डिसी फास्ट चार्जको पनि प्रयोग गर्न सकिन्छ ।
सीथ्री इलेक्ट्रीकमा पीकपावर ४२.५ किलोवाट क्षमताको मोटर दिइएको छ । जुन ५७ हर्स पावर हो । यसले अधिकतम १४३ एनएम टर्क जेनेरेट गर्छ ।
एआरएआईका अनुसार सीथ्री इलेक्ट्रीकले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । चालकले यसलाई आफ्नो अनुकुलता अनुसार ईको र स्ट्यान्डर्ड गरी दुई ड्राइभिङ मोड मध्ये एक छनोट गर्न सक्ने छन् । यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध छ ।
सिट्रोन सीथ्रीको स्पीड पनि ठिक ठाक देखिन्छ । कम्पनीका अनुसार सीथ्रीले ६.८ सेकेन्डमा सून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता भने प्रतिघन्टा १०७ किलोमिटर रहेको छ ।
सीथ्रीमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ५७ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होम चार्जरले भने १०.५ घण्टामा फुल चार्ज गर्न सक्छ । कमपनीको अनुसार कम्बस्चनमा जस्तै ईभी पनि लाइभ र फील गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
यस्तो छ इन्टरियर र फिचर
सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।
सुरक्षाको लागि ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत पाउन सकिन्छ ।


