काठमाडौं । बजाज-केटीएमको सहकार्यमा भारतमा १० लाख यूनिट मोटरसाइकल उत्पादन भइसकेको छ । कम्पनीले समयअघि १० लाख औं यूनिटका रुपमा केटीएम एड्भेन्चर ३९० रोलआउट गरेको थियो ।
यसै क्रममा कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गर्दै केटीएम ड्यूक ६९० उत्पादन गर्ने भएको छ । कम्पनीले ७०० सीसी सेग्मेन्टमा आयात हुने मोटरसाइकलको मूल्यलाई हेरेर भारतमा नै कम मूल्यको ट्वीन सिलिन्डर इन्जिन मोटरसाइकल निर्माण गर्ने भएको हो ।
यसअघि कम्पनीले ४९० सीसी प्यारलल ट्वीन इन्जिन मोटरसाइकल उत्पादन गर्ने योजना ल्याएको थियो । त्यसलाई छाडेर कम्पनीले ६९० सीसी सेग्मेन्टमा फोकस गर्ने भएको हो ।
केटीएमले चिनियाँ मोटरसाइकल कम्पनी सीएफ मोटोसँगको सहकार्यमा ६९० ट्वीन सिलिन्डर प्लेटफर्ममा काम योजना अघि सारेको थियो । अब त्यो योजना परिर्वतन गरेर बजाज-केटीएम सहकार्यमा ६९० प्लेटफर्ममा काम गर्ने भएको हो ।
केटीएमले हाल उत्पादन गर्दै आएको ७९० ड्यूक प्लेटफर्ममा ६९० ड्यूक निर्माण गर्ने योजना बनाएको छ । हाल भारतीय बजारमा ६९० सीसी सेग्मेन्टमा ७५ प्रतिशत बजार रोयल इनफिल्डले लिदैं आएको छ ।
बजाज-केटीएम सहकार्यमा आउने ६९० ड्यूक नेपाल, श्रीलंका, इन्डोनेशिया तथा अस्ट्रेलिया जस्ता बजारमा निर्यात गर्ने योजना कम्पनीले बनाएको छ ।

