काठमाडौं । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभीको टेष्ट ड्राइभ सुरु गरेको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएपनि कर वृद्धिसँगै जेडएस ईभीको आयात बन्द भएको थियो ।
लामो प्रतिक्षापछि पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभी नेपाल ल्याएको हो । अघिल्लो साता जेडएस ईभी नेपाल आएसँगै कम्पनीले यसको टेष्ट ड्राइभ सुरु गरेको छ । अब जेडएस ईभी टेष्ट ड्राइभ गर्न चाहने मानिसले कम्पनीको डिजिटल पेजबाट नाम टिपाएर वा सिधै नक्साल शोरुममा सम्पर्क गरेर टेष्ट ड्राइभ गर्न सक्ने छन् ।
रेगुलर मोडलको तुलनामा निकै ठूलो ब्याट्रीमा उपलब्ध लङ रेन्ज मोडलले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । ७२.६ किलोवाट आवरको ब्याट्री उपलब्ध यो मोडलको मूल्य ८१ लाख ९९ हजार निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ ।
लङ रेन्ज जेडएस ईभीले १५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्न सक्छ । यसलाई डिसी चार्जरले ३७ मिनेट चार्ज गर्दा २९२ किलोमिटर गुडाउन सकिन्छ । साथै, ७.४ किलोवाट क्षमताको एसी चार्जरले ११ घन्टामा फुल चार्ज गर्न सकिनेछ ।
सन् २०२१ मा फेसलिफ्ट जेडएस ईभी बजारमा आएको थियो । पहिलेको तुलनामा परिमार्जन सहित आएको जेडएस ईभीमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म परिवर्तन भएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्ड र सुरक्षा फिचरमा पनि परिमार्जन गरेको छ ।
रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई-स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा थप भएर आएको छ ।
साथै, पारामाउन्ट मोटर्सले चाँडै जेडएस ईभी स्टायडर्ड भेरियन्टको पनि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । सम्भवत अबको एक दुई हप्तामा नै १०० किलोवाट क्षमताको मोटर भएको जेडएस ईभीको बुकिङ खुल्ला हुनेछ ।

