कम मूल्यका ईभीमा थपिदै प्रतिस्पर्धी, नेटा भीलाई टक्कर दिन नयाँ मोडल आउने

काठमाडौं । विद्युतीय सवारीसाधनको माग बढ्दै जाँदा प्रतिस्पर्धी मोडलहरु पनि थपिदै गएका छन् । चिनियाँ कम्पनीहरुसँगै भारतमा उत्पादन भएका ईभी पनि बजारमा बढ्न थालेसँगै बजेट ईभीमा प्रतिस्पर्धा बढेको हो ।

अहिले बजेट ईभी मोडल धेरै छैनन् । विशेषगरी विलिङ मिनी, हेनरी मिनी ईभी जस्ता मोडल छन् । त्योभन्दा अल्ली ठूलो साइजमा टाटा टिगोर ईभी, होजोन मोटर्सको नेटा भी मोडल बजारमा आएका छन् । अब यी मोडलकै हाराहारीको मूल्यमा सिट्रोन सीथ्री इलेक्ट्रीक र टाटाकै टियागो ईभी पनि नेपाल आउने तयारी भइरहेको छ ।

भारतीय बजारमा ईभी उत्पादन वृद्धिसँगै नेपालमा त्यसको बजार खोज्ने प्रयास यहाँका आयातकर्ता ब्यापारीहरुले गर्दै आएका छन् । यस्तोमा बजेट कार सेग्मेन्टमा प्रतिस्पर्धा निकै कडा हुने अनुमान गर्न सकिन्छ ।

अहिले बजारमा उपलब्ध नेटा भीलाई टक्कर दिन फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको सीथ्री इलेक्ट्रीक नेपाल आउने भएको छ । मे महिनाको अन्तिमसम्ममा नेपाल आउने सिट्रोन सीथ्रीको सिधा प्रतिस्पर्धा नेटा भीसँग हुने अनुमान गर्न सकिन्छ ।

यस्तो छ सिट्रोन सीथ्री

सिट्रोनले भारतमा उत्पादन गरेको आफ्नो पहिलो प्रिमियम ह्याचव्याक कार सीथ्रीलाई पहिलो पेट्रोल इन्जिनमा ल्याएको थियो । टाटा नेक्सन जस्तै त्यही मोडललाई इलेक्ट्रीकमा ल्याएको सीथ्री मूल्यको हिसावले नेटा भीको मुख्य प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।

कम्बस्चन इन्जिन भएको सीथ्रीमा रहेका अधिकांश फिचर र बाहिरी बनोट एउटै छ । तर, अगाडिको ग्रिल र ड्यासबोर्डमा भने केही परिवर्तन भएको छ । सिट्रोन सीथ्री इलेक्ट्रीकमा चिनियाँ कम्पनी एसभोल्टले बनाएको २९.२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

सामान्य घरायसी विजुलीमा चार्च गर्न सकिने ३.३ किलोवाट क्षमताको एसी चार्जर यसमा अनबोर्ड उपलब्ध छ । यसमा सीसीएस २ चार्जिङ डिसी फास्ट चार्जको पनि प्रयोग गर्न सकिन्छ ।

सीथ्री इलेक्ट्रीकमा पीकपावर ४२.५ किलोवाट क्षमताको मोटर दिइएको छ । जुन ५७ हर्स पावर हो । यसले अधिकतम १४३ एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । तर, सडकमा त्यो रेन्ज पाउन कठिन हुन्छ ।

यस्तो छ इन्टरियर र फिचर

सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।

सुरक्षाको लागि ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत पाउन सकिन्छ ।


Back_to_top