३० देखि ६५ लाख मूल्यका ईभी किन्नेलाई ७ छनोट

काठमाडौं । नेपालमा विक्री हुँदै आएका ३० लाखदेखि ६५ लाख मूल्यका ईभीमा ग्राहकको निकै राम्रो आकर्षण देखिन्छ । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सन ईभीदेखि निकै चर्चा भएको बीवाइडी एटो थ्रीसम्मका इलेक्ट्रीक एसयूभी ६५ लाख मूल्य भित्रै आउँछ ।

विद्युतीय गाडीको बजार खोल्न महत्वपूर्ण योगदान दिएको हुन्डाई कोनादेखि केही महिना अघि मात्रै नेपाल आएको नेटा भी पनि ग्राहकले ६५ लाख भित्रै किन्न पाउने छन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारको साइज, फिचर, पावर र रेन्जमा यी गाडी खरिद गर्न सक्नेछन् । यो सेग्मेन्टमा एमजीले जेडएस ईभीको १०० किलोवाट क्षमताको मोटरमा ल्याएसँगै ग्राहकले पुनः थप छनोट प्राप्त गरेका छन् ।

१. टाटा टिगोर ईभीः सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टिगोर सेडान इलेक्ट्रीक कार कम मूल्यमा उपलब्ध राम्रो फिचर लोडेड कार हो । विभिन्न तीन भेरियन्टमा टिगोर ईभी नेपालमा उपलब्ध छ ।

टाटा टिगोर एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार रुपैयाँ, एक्सजेड भेरियन्टलाई ३२ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस ड्यूल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

टिगोर सेडानमा ५५ किलोवाट क्षमताको मोटरको साथमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको टिगोर राम्रो सेडान कार हो । एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको पीक टर्क १७० न्यूटन मिटर (एनएम) रहेको छ ।

२. नेटा भीः चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सको उत्पादन नेटा भी नेपालमा विक्री वितरण गर्दै आएको छ । चर्चित अमेरिकी ब्राण्ड टेस्लाबाट प्रेरित इन्टेरियर र एक्स्टेरियरको कारण नेटा भी सफलताको बाटोमा अग्रसर मोडल हो ।

सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने नेटा भीमा ३८ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । सिजी मोटर्सले एउटा मात्रै भेरियन्टमा विक्री गर्दै आएको नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

३. टाटा नेक्सन ईभीः सिप्रदीले नेपालमा विक्री गर्दै आएको नेक्सन सबैभन्दा धेरै भेरियन्टमा किन्न सकिने मोडल हो । टाटा नेक्सन ईभी ३० किलोवाट आवर र ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको एसयूभी हो । २०५ एमएमको उच्च ग्राण्ड क्लियरेन्स नेक्सनको सबैभन्दा बलियो पक्ष हो ।

त्यसैगरी, रेगुलरमा तीन भेरियन्ट र डार्क एडिसनमा दुई भेरियन्ट गरी विभिन्न ५ भेरियन्टमा उपलब्ध रहेको कारण ग्राहकले धेरै छनोट पाउने छन् । नेपालमा सर्वाधिक विक्री भएको नेक्सन ईभीको प्राइम एक्सएम भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो इन्ट्री भेरियन्ट हो । त्यस्तै एक्सजेड भेरियन्टको ४० लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेक्सन ईभी डार्क एडिसन दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले डार्क एडिसनमा एक्सजेड प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्सजेड लग्जरी प्लस भेरियन्टको ४३ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

४. एमजी जेडएस ईभीः पारामाउन्ट मोटर्सले नेपालमा विक्री गर्दै जेडएस ईभीको ९९ किलोवाट क्षमताको मोडल हिजो (मंगलबार)बाट बुकिङ खुल्ला भएको छ । पारामाउन्टले जेडएस ईभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो ।

स्टायडर्ड भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री रहेको छ । सिंगल चार्जमा ३२० किमि रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । साथै, ७२ किलोवाट आवरको ब्याट्रीमा पनि जेड एस ईभी उपलब्ध छ । यसको मूल्य भने ८१ लाख ९९ हजार रुपैयाँ छ ।

५. बीवाइडी इ सिक्सः चिनियाँ ब्राण्ड बीवाइडीले सन् २०२१ मा नेपाल ल्याएको इ सिक्स सफल इलेक्ट्रीक गाडी हो । बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित ७२ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको इ सिक्सलाई सिंगल चार्जमा ५२१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

आकर्षक डिजाइन, यथेस्ट क्याविन स्पेश र बलियो टेक्नोलोजीमा आधारित भएकै कारण ई–६ धेरै मानिसले छनोट गरेका हुन् । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले यसको मूल्य ५९ लाख रुपैयाँ तोकेर विक्री गरिरहेको छ ।

६. हुन्डाई कोनाः हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०१८ देखि नै कोना इलेक्ट्रीक नेपालमा विक्री गर्दै आएको छ । कोनामा ३९.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।

कम्पनीले कोनाको एनएस नयाँ भेरियन्टको मूल्य ५९ लाख ९६ हजार, जीएल भेरियन्टको ६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ५६ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

७. बीवाइडी एटो थ्रीः नेपालमा अहिले विक्री वितरण हुँदै आएको एटो थ्री १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको कारण यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ । तर, साइमेक्स इंकले केही दिनमा नै १०० किलोवाट क्षमताको मोटर भएको एटो थ्री नेपाल ल्याउन लागेको छ ।

अहिले धेरै मानिसले बुकिङ गरेर बसेको १०० किलोवाट क्षतमाको एटो थ्रीको मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेको छ ।


Back_to_top