काठमाडौं । नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल थपिने भएको छ । येज्दी मोटरसाइकलले येज्दी एड्भेन्चर नेपाल आउने भएको हो ।
नेपाली बजारमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको हो ।
कम्पनीले दुई कलर अप्सनमा एड्भेन्चर मोडल ल्याउने छ । कलर अनुसार फरक मूल्य निर्धारण गरेर यसको विक्री सुरु हुन लागेको छ । कालो कलरको मूल्य ९ लाख ९८ हजार र सिल्भर कलरको मूल्य ९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही समय भित्रनै मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
सिग्नेचर एड्भेन्चर डिजाइनमा निर्माण भएको येज्दीको अगाडि ठूलो वीन्ड स्क्रीन पाउन सकिन्छ । साथै, यसको फ्यूल ट्याङक कलात्मक रहेको छ । यसमा स्प्लीट स्टाइल सिट पाउन सकिन्छ । यसको टेल सेक्सन माथि उठेको छ ।
येज्दी एड्भेन्चरको फ्रन्ट लुक निओ रेट्रो डिजाइनमा जस्तो देखिन्छ । यसमा राउन्ड एलइडी हेडल्याम, र्फक गाइटर र स्पोक ह्वील दिइएको छ । यो मोटरसाइकलका लागि येज्दीले प्रशस्त एशोसरिजहरु उपलब्ध गराएको छ । यसमा स्याडल व्याग, पेनीयर्स बक्स, ग्यालन, ह्यान्ड गार्ड जस्ता एशोसरिजले यसलाई टुरिङका लागि उत्कृष्ट बनाएको छ ।
येज्दी एड्भेन्चरमा टील्ट एड्जष्टएवल फुल डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा कनेक्ट फिचरसमेत उपलब्ध छ । जसमा चालकले टर्नवाइटर्न नेभिगेशन र ब्लुटुथ कनेक्टीभीटी मार्फत फोन कनेक्ट गर्न सक्छन् । त्यस्तै यसमा एलइडी इलुमीनेसन, यूएबी पोर्ट र टाइप सी चार्जिङ पोइन्ट उपलब्ध छ ।

येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिन जावा पेराकबाट लिइएको भएता पनि यसलाई एड्भेन्चरका लागि ट्युन गराइएको छ । यो इन्जिनले ३०.२ पीएस पावर ८००० आरपीएममा र २९.९ पीएस पावर ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यसको फ्रन्टमा टेलीस्कोपिक सस्पेन्सन तथा रियरमा प्रि–लोड एड्जष्टेवल मोनोसक सस्पेन्सन उपलब्ध छ । त्यसैगरी यस मोटरसाइकलमा रहेको २२० एमएम ग्राउन्ड क्लियरेन्सले अफरोड राइडिङमा चालकलाई सहजता प्रदान गर्ने देखिन्छ ।
ब्रेकिङमा दुबै तर्फ डिस्क ब्रेक उपलब्ध रहेको मोटरसाइकलमा डबल च्यानल एबीएस फिचर दिइएको छ । यसको फ्रन्टमा २१ इन्च र रियरमा १७ इन्चको डबल पर्पस टायर रहेको छ ।

