मूल्य, माइलेज र डिजाइनमा प्रतिस्पर्धा, ३ वटै मोडल ‘भ्यालु फर मनी’

काठमाडौं । नेपाल आएको १५ वर्षभन्दा धेरै समय भएर पनि निरन्तर राम्रो बिक्री भेट्टाउन सफल मोडल ‘होन्डा सिबी साइन’सँग प्रतिस्पर्धा गर्न १२५ सीसी सेग्मेन्टमा अहिले थुप्रै मोडल छन् ।

केही समय अगाडिसम्म नेपालमा उपभोक्ताले १२५ सीसी क्षमताको मोटरसाइकल किन्दा मूल्य र माइलेज हेरेर निर्णय गर्ने गरेका थिए । तर, अहिले समय फेरिएको छ । १२५ सीसी सेग्मेन्टमा लाइफस्टाइल प्रोडक्टहरु पनि नेपाल आउन थालेका छन् । यो सेग्मेन्टका मोटरसाइकललाई ‘भ्यालु फर मनी’को हिसावले हेरेर किन्ने गरिन्छ ।

अहिले १२५ सीसीमा भारतीय ब्राण्ड बजाज र टीभीएससँगै जापानी ब्राण्ड होन्डाका उत्पादन बीच प्रतिस्पर्धा चलिरहेको छ । बजारमा उपलब्ध यी तीन ब्राण्डका होन्डा साइन, टीभीएस रेडर र बजाज पल्सर मोडल सबैभन्दा चल्चीका मोडल हुन् ।

यी तीन वटै मोटरसाइकल स्टाइलिस डिजाइन, कम मूल्य, उत्कृष्ट माइलेज र युवा पुस्ताको रोजाईमा पर्न सक्ने किसिमका छन् । यस्तोमा यी तीन ब्राण्डका तीन मोडलको विषयमा यहाँ हामीले चर्चा गरेका छौं ।

लुक्स

होन्डा सिबी साइन र पल्सर १२५ मोटरसाइकल क्लासीक डिजाइन तयार भएको मोडल हो । त्यसको ठिक उल्टो टीभीएस रेडर मोर्डन र एग्रेशिभ डिजाइनमा तयार भएको मोडल हो ।

यी तीनवटै मोडल हेर्नमा राम्रो देखिन्छन् भने पर्फमेन्समा पनि खरो उत्रिएका मोडल हुन् । होन्डा, टीभीएस र बजाजले अहिले पनि राम्रै संख्यामा यी मोडल विक्री गर्दै आएको छ ।

पावर

समान १२४ सीसी क्षमताका इन्जिन उपलब्ध यी तीन मोटरसाइकलमा टीभीएस रेडर बढी पावर भएको इन्जिनमा उपलब्ध छ । टीभीएस रेडरमा रहेको इन्जिनले अधिकतम १२.९ पीएस पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै निरन्तर सफलता हातपार्न सफल होन्डा सिबी साइनमा रहेको इन्जिनले अधिकतम ७५०० आरपीएममा १०.१६ बीएच पावर तथा ५५०० आरपीएममा १०.३० एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी, बजाज पल्सर १२५ मा रहेको इन्जिनले ८५०० आरपीएममा १२ पीएस पावर तथा ६५०० आरपीएममा अधिकतम १०.८ एनएम टर्क जेनेरेट गर्छ । यी तीनवटै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

माइलेज

होन्डा सीबी साइन माइलेजक किङग भनेर चिनिने मोटरसाइकल हो । साइनमा १०.५ लिटरको फ्युल ट्याङक रहेको छ । यसले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो मोटरसाइकल उपत्यकामा चलाउँदा पनि ५० किलोमिटरको माइलेज पाउन सकिन्छ ।

टीभीएस रेडर पावरफुल इन्जिन भएपनि माइलेज पनि राम्रो पाउन सकिने मोटरसाइकल हो । कम्पनीले ६० किलोमिटर माइलेज दावी गरेको छ । तर, जस्तोसुकै अवस्थाको सडकमा चलाउँदा पनि यसले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिन्छ । यसमा १० लिटर क्षमताको फ्युल ट्याङक दिइएको छ ।

बजाज पल्सर १२५ मा ११.५ लिटर क्षमताको इन्धन ट्याङ्क उपलब्ध छ । यो मोटरसाइकले ५१ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो मोटरसाइकल जस्तोसुकै अवस्थाको सडकमा चलाउँदा पनि प्रतिलिटर ४५ किलोमिटर माइलेज पाउन सकिन्छ ।

फिचर

होन्डा सीबी साइनमा सेमी डिजिटल कन्सोल, डिस्क तथा ड्रम ब्रेक, एलइडी डीआरएल, सिंगल पिस सिट जस्ता फिचर रहेको छ ।

टीभीएस रेडरमा फुल डिजिटल कन्सोल, गियर इन्डिकेटर, टप स्पीड रेकर्डर, हेलमेड रिमान्डर, युएसबी चार्जर, एलइडी लाइट्स जस्ता फिचर रहेको छ ।

त्यस्तै पल्सर १२५ मा सेमी डिजिटल कन्सोल, डिआरएल, डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ ।

मूल्य

होन्डा सिबी साइन नेपाली बजारमा ४ भेरियन्टमा विक्री भइरहेको छ । साइनको टप भेरियन्ट सिबी साइन एसपीको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ ।

एकमात्र भेरियन्टमा नेपाली बजारमा विक्री भइरहेको टीभीएस रेडरको मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै बजाज पल्सर १२५ को मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top